चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

डिसी नेपाल
३० कार्तिक २०८२ २०:०७

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ५५ करोड रहेको छ। त्यस्तै, पछिल्लो तीन महिनामा रू एक अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको राष्ट्र बैंकले जनाएको छ। असोज मसान्तसम्ममा शोधनान्तर स्थिति रू दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ।

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो तीन महिनामा ११ दशमलव तीन प्रतिशतले वृद्धि भई असोज मसान्तमा रू २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत असोज मसान्तमा १० दशमलव पाँच पाँच प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ।

त्यस्तै राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १८ दशमलव सात प्रतिशतले वृद्धि भई तीन खर्ब १२ अर्ब १० करोड कायम भएको छ। गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव नौ महिनाको वस्तु आयात र १६ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *