महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
म्याग्दी (बेनी)। बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ ।
शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिहरुलाई पञ्चैबाजा बजाउने तालिम दिन सुरु गरिएको हो ।
बुधबारदेखि सुरु भएको पञ्चैबाजा प्रशिक्षणमा वडाभित्रका विभिन्न आमा समूह र महिला समूहका प्रतिनिधि सहभागी जनाएका छन् । वडाभित्र पञ्चैबाजा बजाउने समूह नहुँदा विवाह, छेवर, व्रतबन्धलगायत शुभकार्यहरुमा पञ्चैबाजा बजाउनका लागि बाहिरबाट टोली ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन बढाउन पञ्चैबाजा बजाउन सिकाउन थालिएको सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताए । “हरेक शुभकार्यहरुमा पञ्चैबाजा बजाउने प्रचलन छ, हाम्रो वडामा पञ्चैबाजा बजाउने समूह नहुँदा समस्या छ, त्यसैले प्रशिक्षण सञ्चालन गरेका हौँ”, केन्द्रका अध्यक्ष शर्माले भने।
पैँतालिस दिनसम्म सञ्चालन हुने तालिममा पञ्चैबाजा प्रशिक्षक प्रकाश परियार र सतप्रसाद छिनालले व्यावहारिक प्रशिक्षण दिनेछन्। चालु आर्थिक वर्षमा नौमती बाजा संरक्षण तथा सीप विकासका लागि वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले रु एक लाख ५० हजार र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले रु एक लाख २० हजार अनुदान प्रदान गरेको छ ।
पञ्चैबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment