महालक्ष्मी विकास बैंकको २४ औं साधारण सभा : १०.३७% लाभांश पारित
काठमाडौं महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीहरूका लागि लाभांशसहित विभिन्न महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ। बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) पारित भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
सभामा आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी स्वीकृत गरिइको छ। बैंकका अनुसार बैंकको आधार दर अघिल्लो वर्षको ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ । त्यस्तै, पुँजीकोष पर्याप्यता अनुपात १४.९३ प्रतिशतबाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ।
साधारण सभाले आगामी कार्यकालका लागि ६ सदस्यीय नयाँ सञ्चालक समितिको निर्विरोध निर्वाचन गरेको छ । निर्वाचित हुनेहरूमा संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरी र ग्रोइङ्ग प्रा.लि.को तर्फबाट सागर मल्ल छन् । यस्तै, सर्वसाधारण समूह (ख) बाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment