देशका पश्चिमी भूभागमा हिमपात र वर्षा (तस्बिरहरू)

डिसी नेपाल
१० माघ २०८२ १५:१४
244
Shares

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण लामो समयपछि देशका पश्चिमी भूभागमा हिमपात र वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्मको हिमपात भइ अहिले भने मौसम केही खुलेको छ।

हुम्लाको सिमिकोटमा हिजो राति ९ बजेदेखि पर्न थालेको हिमपात अहिले रोकिएको छ भने आकाश आंशिक रूपमा खुलेको मौसम महाशाखाले जनाएको छ।

लामो समयको खडेरीपछि कर्णाली प्रदेशका मुगु, डोल्पा, जुम्ला, कालिकोट र हुम्ला जिल्लामा हिमपात र वर्षा भएको हो। गत भदौ महिनादेखि पर्याप्त वर्षा नभएको मुगुमा यस वर्ष पहिलो पटक वर्षासँगै हिमपात सुरु भएको हो।

हिमपातपछि मुगुका स्थानीयहरू हिउँ पन्छाउन व्यस्त देखिएका छन्। लामो समयसम्म हिउँ नपर्दा हिउँदे अन्नबाली, फलफूल तथा तरकारी उत्पादनमा असर पर्ने भन्दै चिन्तित किसानहरू हिमपात सुरु भएपछि खुसी भएका छन्।

किसानका अनुसार हिमपातले जमिनमा चिस्यान बढाउने भएकाले आगामी बालीका लागि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

मुगुको तल्लो भेगमा भने निरन्तर वर्षा भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रमा वर्षा भएपछि माथिल्लो भेगमा हिमपात हुने गरेको छ। हाल ताल्चा, घुच्ची, पिना, रावा, शोभा, सोरुकोट, रारा, बाम, खमाले, सेरी, मुगु, डोल्फु, चितही, दाउरा पुलु लगायतका क्षेत्रमा हिमपात भइरहेको छ।

लगातारको हिमपात र चिसोका कारण जनजीवन भने कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण यातायात, दैनिक कामकाज तथा आवतजावतमा समस्या देखिन थालेको स्थानीयले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ। साथै, यी प्रदेशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने जनाइएको छ।

यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *