मोरङ–३ मा फेरि ‘स्वास्थ्य र सेवा’ मेरो मुख्य एजेन्डा : डा. सुनील शर्मा

डिसी नेपाल
१७ माघ २०८२ १५:०१
24
Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा.सुनील शर्मा घरदैलो अभियानमा व्यस्त छन्। स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमार्फत पहिचान बनाएका शर्माले यसपटक पनि ‘स्वास्थ्य, सेवा र विकास’लाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। अघिल्लो निर्वाचनमा ठूलो मतान्तरसहित जित हात पारेका उनी पुनः बलियो जनादेशसहित संसद पुग्ने लक्ष्यमा छन्। प्रस्तुत छ, चुनावी अभियान, एजेन्डा र भावी योजनाबारे डा. शर्मासँग गरिएको कुराकानी:

मोरङ–३ मा पुनः चुनावी मैदानमा होमिँदा कस्तो अनुभूति भइरहेको छ?

अनुभूति भनेको जिम्मेवारीको हो। अघिल्लो कार्यकालमा जनताले दिएको विश्वासलाई मैले कर्मबाट प्रमाणित गर्ने प्रयास गरेँ। आज फेरि त्यही जनतामाझ जाँदा आत्मविश्वास छ, किनभने खाली आश्वासन होइन, काम लिएर आएको छु। स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा निरन्तर लागिरहेकै छु।

घरदैलो अभियानमा मतदाताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ?

अत्यन्तै सकारात्मक। धेरैले ‘डाक्टर साहेब, तपाईं हाम्रो दुःख–सुखमा सँगै हुनुहुन्थ्यो’ भनेर सम्झाइदिनु हुन्छ। खासगरी निःशुल्क स्वास्थ्य उपचार पाएका परिवारहरूको भावनात्मक समर्थन निकै बलियो देखिन्छ। त्यो नै मेरो सबैभन्दा ठूलो शक्ति हो।

तपाईंलाई ‘स्वास्थ्यलाई राजनीति बनाउने नेता’ भनेर चिनिन्छ। यो एजेन्डा किन यति केन्द्रमा राख्नुभएको?

किनभने स्वास्थ्य जनताको आधारभूत आवश्यकता हो। उपचार नपाएर कोही पनि गरिब मर्नु हुँदैन भन्ने मान्यताबाट पछि हटेको छैन्। अस्पताल, शिविर, निःशुल्क उपचार—यी कुनै नारा होइनन्, व्यवहारमा उतारिएका काम हुन्। राजनीतिले यदि जनताको पीडा कम गर्न सकेन भने त्यसको औचित्य हुँदैन।

अघिल्लो कार्यकालमा तपाईंले गरेका मुख्य कामहरू के–के हुन्?

हजारौँ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, नियमित स्वास्थ्य शिविर, जटिल रोगका बिरामीलाई सहुलियत उपचार, शिक्षा क्षेत्रमा सहयोग, सडक र पूर्वाधारमा पहल—यी सबै काम स्थानीयले देखेका छन्। संसदमा पनि स्वास्थ्य नीति र सामाजिक सुरक्षाका विषयमा निरन्तर आवाज उठाएँ।

यसपटकको घोषणापत्रमा के नयाँ छ?

निरन्तरतासँगै विस्तार छ। अब स्वास्थ्य सेवालाई अझै संस्थागत बनाउने, गाउँ–गाउँमा आधारभूत उपचार सुनिश्चित गर्ने, शिक्षा र सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने योजनामा छु। पूर्वाधार विकासलाई स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउने सोच छ।

रोजगारी र युवा पलायन ठूलो समस्या छ। तपाईंको समाधान के हो?

युवालाई देशमै सम्भावना देखाउनुपर्छ। सीपमूलक तालिम, स्थानीय उद्योग प्रवद्र्धन, कृषि र स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ। सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर मोरङ–३ लाई रोजगारीको केन्द्र बनाउने योजना छ।

विपक्षीले तपाईंमाथि ‘लोकप्रियतामुखी राजनीति’को आरोप लगाउँछन्, के भन्नुहुन्छ?

सेवा लोकप्रिय भयो भने त्यसमा दोष के छ ? मैले प्रचारका लागि होइन, आवश्यकताका लागि सेवा गरेको हुँ। परिणाम देखिएको छ, जनताले अनुभूति गरेका छन्। लोकप्रियता कामको परिणाम हो, उद्देश्य होइन।

कांग्रेसको वर्तमान राजनीतिक छविबारे तपाईंको धारणा?

कांग्रेस परिवर्तनको प्रक्रियामा छ। आत्मसमीक्षा भइरहेको छ। म स्वयं सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा दृढ छु। पार्टीभित्र पनि सुधार आवश्यक छ, र त्यो सम्भव छ भन्ने विश्वास दिलाउन हामीले काम गर्नुपर्छ।

संसद पुगेपछि तपाईंको प्राथमिकता के हुनेछ?

स्वास्थ्य प्रणाली सुदृढीकरण पहिलो प्राथमिकता हो। त्यसपछि शिक्षा, सामाजिक सुरक्षा र स्थानीय विकास प्राथमिकतामा छ। मोरङ–३ का मुद्दालाई राष्ट्रिय नीतिसँग जोडेर अघि बढाउनेछु।

७० हजारभन्दा बढी मत ल्याउने लक्ष्य यथार्थपरक छ?

लक्ष्य ठूलो हुनुपर्छ, जनतासँगको सम्बन्ध, अघिल्लो कामको मूल्यांकन र अहिलेको माहोल हेर्दा सम्भव देख्छु। बलियो जनादेशले संसदमा मेरो आवाजलाई अझ प्रभावकारी बनाउँछ।

अन्तिममा मतदातालाई के सन्देश दिन चाहनुहुन्छ?

मैले बोलेभन्दा बढी काम गरेको छु। फेरि अवसर दिनुहोस्, अझ धेरै गर्न चाहन्छु। स्वास्थ्य, सेवा र विकासको यात्रामा तपाईंहरूसँगै हिँड्न चाहन्छु। यो चुनाव व्यक्ति होइन, मूल्य र भरोसाको चुनाव हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *