कैलाली विद्या निकेतनको २६औं वार्षिकोत्सव : शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित
धनगढी। कैलाली विद्या निकेतन धनगढीको २६औं वार्षिकोत्सव, अभिभावक दिवस तथा रजत जयन्ती समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयकी संस्थापक निर्देशक रेखा सिंह शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा शिक्षाविद प्रा. सुरेन्द्र चन्द रहेका थिए।
कार्यक्रममा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साढे चार दशक शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याएका कैलाली बहुमुखी क्याम्पसमा पूर्वक्याम्पस प्रमुख प्रा. सुरेन्द्र चन्दलाई विद्यालयले सम्मान गरेको छ।
यसैगरी वि.सं. २०५० सालदेखि शिक्षा क्षेत्रमा सक्रिय ऎश्वर्य विद्या निकेतनको प्राचार्य हुँदै क्याम्पस प्रमुखको कुशल नेतृत्व सम्हाली सकेका प्रा. धर्मदेव भट्टलाई सम्मान गरिएको छ।
विद्यालय तहदेखि विश्वविद्यालयसम्मको शिक्षा क्षेत्रमा चार दशक जीवन समर्पित व्यक्तित्व कैलाली बहुमुखी क्याम्पसका पूर्वसह प्राध्यापक प्रेमराज भण्डारी पनि सम्मानित भएका छन्।
सम्मानित हुनेमा चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय सरस्वती मावि धनगढीको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएकोमा प्रधानाध्यापक ज्ञानेन्द्र शाहलाई सम्मान गरिएको छ।

विद्यालयले २०८१ मा रजत जयन्ती शुभारम्भ र २०८२ मा रजत जयन्ती समापन गरी भव्यताका साथ विद्यार्थीका साङ्गीतिक प्रस्तुती, गीत, कविता एवं रचनात्मक प्रस्तुती गरी समारोहको आयोजना गरेको थियो।
कार्यक्रममा उत्कृष्ट शिक्षण सिकाइ प्रदर्शन गर्ने शिक्षक कर्मचारी, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, पूर्वशिक्षक, पूर्वविद्यार्थीलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाहले प्रतिबेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ कटिवद्ध रहने प्रतिबद्धता व्यक्त गरेका थिए। अभिभावकको साथ, सहयोग, विश्वासका लागि आभार व्यक्त गर्दै उनले जेहेन्दार, विपन्न , प्रतिभाशाली विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तरगत छात्रवृत्तिमा अध्यापन गराउने घोषणासमेत गरेका छन्।
सुविधा सम्पन्न कक्षा कोठा, विज्ञान प्रयोगशाला, अत्याधुनिक कम्प्यूटर ल्याब, पुस्तकालय, अतिरिक्त क्रियाकलाप आफूहरूका आकर्षण रहेको उनले बताए।
२०५६ सालमा स्थापना भएको विद्यालय रजत जयन्ती समारोह मनाउन सफल भएको उल्लेख गर्दै यस उपलब्धीको श्रेय अभिभावक, शुभेच्छुक, वर्तमान तथा पूर्वशिक्षक, कर्मचारी, विद्यार्थी सबैलाई जाने शाहले बताए।
निजी विद्यालयको मेरुडण्ड अभिभावक नै भएको उल्लेख गर्दै उनले विद्यालयप्रति देखाएको विश्वासलाई कहिल्यै पनि टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रमुख अतिथि चन्दले विद्यालयले निरन्तर गरिरहेको प्रगतिको प्रसंशा गर्दै शिक्षा क्षेत्रको लगानीको नतीजा समय लाग्ने बताउँदै विद्यालयले गरिरहेको मेहेनतको नतीजा देखिन थालेकोमा खुशी ब्यक्त गरे।
विशिष्ट अतिथि भट्टले विद्यालयले लामो संघर्षपछि प्राप्त गरेको सफलता संस्थापक, शिक्षक विद्यार्थी र अभिभावकको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले सुदूरपश्चिमको शैक्षिक विकासमा विद्यालयले खेलेको भूमिकाको प्रसंशा गर्दै अभिभावकलाई समय समयमा विद्यालयमा आएर आफ्ना छोरा छोरीको प्रगतीबारे छलफल गर्न आग्रह गरेका थिए।
स्वागत मन्तव्य विद्यालयका संयोजक अनिल चौधरीले गरेका थिए भने कार्यक्रम सञ्चलन शिक्षक टेकराज भट्ट र विद्यार्थीहरूले गरेका थिए।







डिसी नेपाल







Facebook Comment