नयाँ वर्ष २०८३ : नयाँ वर्षमा घुम्ने योजना छ ? यी हुन् नेपालका उत्कृष्ट गन्तव्यहरू

मनिषा बस्नेत
१ वैशाख २०८३ ९:१६
40
Shares

काठमाडौं। भित्तेपात्रो फेरिएसँगै नयाँ उत्साह र उमङ्ग बोकेर नयाँ वर्ष २०८३ दैलोमा आइपुगेको छ। कार्यव्यस्तता र सहरको कोलाहलबाट केही समय विश्राम लिएर परिवार तथा साथीभाइका साथ रमाइलो गर्ने सोचमा हुनुहुन्छ भने नेपालभित्रै यस्ता थुप्रै मनमोहक गन्तव्यहरू छन्, जसले तपाईंको नयाँ वर्षलाई अविस्मरणीय बनाउनेछ।

अहिलेको मौसम न जाडो न गर्मी, अर्थात् घुमफिरका लागि ‘गोल्डेन सिजन’ हो। विगतका आन्दोलनका घाउहरू बिस्तारै निको हुँदै जाँदा नेपालका पर्यटकीय क्षेत्रहरू पुनः तङ्ग्रिएका छन् ।

पोखराः सधैँको रोजाइ

फुर्सद हुनासाथ धेरैको मानसपटलमा आउने पहिलो नाम हो पोखरा। प्राकृतिक सुन्दरता, तालतलैया र हिमालको काखमा रहेको पोखराले पर्यटकलाई कहिल्यै अघाउन दिँदैन।

फेवातालमा डुङ्गा सयर, सराङकोटबाट सूर्योदय, प्याराग्लाइडिङ, जिप फ्लायर र लेकसाइडको जीवन्त ‘नाइट लाइफ’ पोखराको मुख्य आकर्षण हो ।

सौराहाः वन्यजन्तुसँगको सामीप्यता

चितवनको सौराहा ‘वाइल्डलाइफ टुरिजम’का लागि विश्वप्रख्यात छ । पारिवारिक भ्रमण वा हनिमुन ट्रिपका लागि यो उत्कृष्ट गन्तव्य हो । हात्ती सफारी, राप्ती नदीमा गोही हेर्दै डुङ्गा सयर, थारु संस्कृति र सूर्यास्तको दृश्य मुख्य आकर्षणमा पर्छ । त्यहाँ जान प्रतिव्यक्ति करिब १२ हजार रुपैयाँमा दुई रातको प्याकेज सहजै पाइन्छ।

लुम्बिनी : शान्ति र आध्यात्मिकताको केन्द्र

भगवान बुद्धको जन्मस्थल लुम्बिनी शान्ति र आध्यात्मिकताको केन्द्र हो। मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र उद्यान तथा विभिन्न देशका बौद्ध विहारहरू यहाँका प्रमुख आकर्षण हुन्। यहाँको शान्त वातावरणले मानसिक सन्तुलन र आध्यात्मिक आनन्द प्रदान गर्छ।

रारा र लोमान्थाङ : साहसिक यात्रा

अलिकति बढी समय र बजेट हुनेहरूका लागि मुगुको रारा ताल र मुस्ताङको लोमान्थाङ ‘स्वर्गको टुक्रा’ भन्दा कम छैनन्। राराले घामको किरणसँगै रङ्ग फेरेको दृश्य हेर्नुको मजा अर्कै हुन्छ भने लोमान्थाङमा तिब्बती संस्कृति र मरुभूमि जस्तो भूगोलको अनुभव लिन सकिन्छ ।

सुदूरको स्वर्गः बडीमालिका

शब्दले वर्णन गर्नै नसकिने सुन्दरता बोकेको बाजुराको बडीमालिका यो वर्षको विशेष आकर्षण हुन सक्छ। समुद्री सतहबाट ४,२०० मिटर उचाइमा रहेको यो क्षेत्रमा रहेका २२ विशाल पाटन (फाँट) हरूको दृश्यले जोकोहीलाई लोभ्याउँछ। वारि दह, सोता दह र घोडे दह जस्ता मनमोहक स्थानहरू छिचोल्दै गर्दा देखिने रङ्गीचङ्गी फूलहरू र गोलाकार डाँडाहरूले यात्रालाई स्वर्गको अनुभूति गराउँछन्।

सांस्कृतिक सामीप्यता : सिरुबारी होमस्टे

गुरुङ संस्कृति र गाउँले परिवेशमा रमाउन चाहनेका लागि स्याङ्जाको सिरुबारी उत्कृष्ट छ । नेपालकै पहिलो ‘होमस्टे’ का रूपमा प्रख्यात यहाँ पर्यटकलाई छोरा-नाति जस्तै माया र सत्कार गरिन्छ । पञ्चैबाजा र फूलमालाका साथ स्वागत गरिने यहाँको परम्परा र नाचगानले यात्रालाई भावनात्मक बनाउँछ। पोखराबाट ६४ किलोमिटरको यात्रामा पुग्न सकिन्छ ।

उपत्यका नजिकैका छोटो दूरीका गन्तव्य

यदि तपाईंसँग लामो समय छैन र काठमाडौं आसपास नै घुम्न चाहनुहुन्छ भने निम्न विकल्पहरू उत्तम छन्-

नगरकोट र धुलिखेल : काठमाडौंबाट डेढ–दुई घण्टामै पुग्न सकिने यी ठाउँहरू हिमाल हेर्न र ‘डे ट्रिप’का लागि प्रख्यात छन्। पछिल्लो समय यहाँ जिपलाइन र रिसोर्ट कल्चर निकै फस्टाएको छ ।

भोटेचौर (मिनी इलाम) : सिन्धुपाल्चोकको भोटेचौरमा रहेको चिया बगानले तपाईंलाई इलाम पुगेको आभास गराउँछ। यो हाइकिङ र फोटो सेसनका लागि युवा पुस्ताको रोजाइमा छ।

सुकुटे र कुलेखानीः एड्भेन्चर मन पराउनेका लागि सुकुटेमा ¥याफ्टिङ र कुलेखानी (इन्द्र सरोबर) मा बोटिङ तथा माछाका परिकार मुख्य आकर्षण हुन्।

बेथानचोक :काभ्रेको बेथानचोक पछिल्लो समय ’क्याम्पिङ’का लागि निकै चर्चामा छ, जहाँबाट दर्जनौँ हिमालहरू नजिकै देखिन्छन्।

एड्भेन्चर र हाइकिङका लागि उत्तम स्थान

सुकुटे : सिन्धुपाल्चोकको सुकुटे अहिले एड्भेन्चर हबका रूपमा विकसित भएको छ। भोटेकोशीमा ¥याफ्टिङ, बन्जी र बगरमा टेन्ट बास यहाँका मुख्य आकर्षण हुन्।

चिसापानी : सुन्दरीजलबाट करिब ७ घण्टाको हाइकिङ गर्दै शिवपुरी निकुञ्ज छिचोलेर पुगिने चिसापानीबाट लाङटाङ र गौरीशंकर हिमालको भव्य दृश्य देखिन्छ।

जिरीः ‘नेपालको स्वीटजरल्याण्ड’ भनिने जिरी प्राकृतिक हरियाली र चिसो मौसमका लागि प्रख्यात छ ।

पूर्वी नेपालका रत्न : अन्तुडाँडा र जामुनखाडी सूर्योदयको पहिलो किरण हेर्न इलामको अन्तुडाँडा पुग्नै पर्ने ठाउँ हो। त्यस्तै झापाको जामुनखाडी सिमसार क्षेत्रमा नौका विहार र वन्यजन्तु अवलोकनको सुविधा छ ।

पूर्वदेखि पश्चिमसम्मका अन्य गन्तव्य

झापाको जामुनखाडी सिमसार, इलामको अन्तुडाँडा, दोलखाको जिरी (नेपालको स्वीटजरल्याण्ड), र स्याङ्जाको सिरुबारी होमस्टे पनि नयाँ वर्ष मनाउनका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित भएका छन्।

नेपालको भूगोल र संस्कृति यति धनी छ कि यहाँ हरेक बजेट र चाहनाअनुसारका गन्तव्यहरू उपलब्ध छन्। यो नयाँ वर्षमा विदेशतिर आँखा लगाउनु भन्दा आफ्नै देशका यी सुन्दर ठाउँहरू घुमेर आन्तरिक पर्यटनलाई टेवा पुर्याउनु बुद्धिमानी हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *