छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

डिसी नेपाल
१ वैशाख २०८३ १८:३५
580
Shares

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ।

मोरङको कानेपोखरी गाउँपालिका-५ जहदास्थित सडकमा मे.१ त ६७८७ नम्बरको ट्याक्टरले बा.३९ प ४३३३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-७ बस्ने ३० वर्षीय मनोज कार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

झापाको कनकाई नगरपालिका-४ कोटिहोमस्थित सडकमा दुर्गापुरबाट माईखोलातर्फ जाँदै गरेको को.२ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरको सहचालक सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिनोद दनुवारको सोमबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित सडकमा वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को.१ ख ३८६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मो. मोख्तार मियाकी छोरी ५ वर्षीया असियाना खातुनको सोमबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सुनसरी इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

बाँकेको खजुरा गाउँपालिका-४ पार्वतीपुरस्थित सडकमा म.प्र.०३-०३९ प ४२२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-४ पार्वतीपुर बस्ने ३२ वर्षीय कमल विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएको उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

दाङको गढवा गाउँपालिका-५ बाँकीस्थित सडकमा गढवादेखि गोबरडिहातर्फ जाँदै गरेको रा.२ प ३९७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-५ बाँकी बस्ने ५६ वर्षीय राम स्वरूप यादवको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

बागलुङको बरेङ गाउँपालिका-२ घट्टस्थित सडकमा सुडाला बजारदेखि घट्टतर्फ जाँदै गरेको ध.१ त ६१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-३ बाटाकाचौर बस्ने २९ वर्षीय राजकुमार सार्कीको मृत्यु भएको छ। सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

मनाङको नासोँ गाउँपालिका-३ धारापानीस्थित सडकमा वेशीसहरबाट सिनोहाईड्रो मनाङतर्फ आउँदै गरेको बा.प्र.०६-००१ क ०४६१ नम्बरको ट्रक अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक लमजुङ मर्स्याङदी गाउँपालिका-९ बस्ने ३७ वर्षीय कुस गुरूङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *