बिहारको राजनीतिमा ‘नितिश युग’ को अन्त्य: अब केन्द्रतर्फको यात्रा
बिहार। बिहारका सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका नितिश कुमारले आज मंगलबार आफ्नो पदबाट आधिकारिक रूपमा राजीनामा दिएका छन्। पटनास्थित राजभवनमा पुगेर उनले गभर्नर सइद अता हसैन समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। यससँगै बिहारको राजनीतिमा झण्डै दुई दशकदेखि कायम रहेको ‘नितिश युग’ को औपचारिक अन्त्य भएको छ।
राजीनामाको मुख्य कारण र नयाँ भूमिका
७५ वर्षीय नितिश कुमारले स्वास्थ्य अवस्था र आफ्नो नयाँ राजनीतिक भूमिकालाई मध्यनजर गर्दै यो निर्णय लिएको बताइएको छ। उनी हालै मात्र राज्यसभा सदस्यमा निर्वाचित भएका थिए। अब उनी बिहारको राज्य राजनीतिबाट हटेर दिल्लीस्थित केन्द्रीय राजनीतिमा सक्रिय हुनेछन्।
राजीनामा दिनुअघि उनले आफ्नो अन्तिम क्याबिनेट बैठक डाकेका थिए, जहाँ उनले मन्त्रिपरिषद् भंग गर्ने निर्णय गर्दै आफ्ना सहकर्मीहरूलाई धन्यवाद दिएका थिए।
नितिश कुमारको राजीनामासँगै बिहारमा सत्ता समीकरणमा पनि परिवर्तन आएको छ। अब बिहारमा पहिलोपटक भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ। सम्राट चौधरी बिहारको नयाँ मुख्यमन्त्री बन्ने तय भएको छ। भाजपा हाल बिहार विधानसभामा ८९ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा रहेको छ।
सन् २००५ देखि (छोटो अन्तराल बाहेक) लगातार बिहारको नेतृत्व गर्दै आउनुभएका नितिश कुमारलाई ‘सुशासन बाबु’ का रूपमा चिनिन्छ। उनको कार्यकालका महत्वपूर्ण उपलब्धिहरू भएका छन्।
विद्यालय जाने छात्राहरूका लागि नि:शुल्क साइकल योजना र पञ्चायत चुनावमा ५०% आरक्षण, बिहारका गाउँ-गाउँसम्म सडक सञ्जाल र बिजुलीको विस्तार, बिहारमा मदिरा निषेध जस्तो साहसिक र विवादास्पद निर्णय, खानेपानी, स्वास्थ्य र शिक्षामा सुधारका लागि ल्याइएको विशेष मार्गचित्र नितिश कालमा उपलब्धी हुन्।
राजीनामा पछि सामाजिक सञ्जालमार्फत सन्देश दिँदै नितिश कुमारले भनेका छन्-“मैले बिहारको सेवा गर्ने सौभाग्य पाएँ। हामीले विकासको जुन जग बसालेका छौं, त्यसले बिहारलाई आगामी दिनमा अझै उचाइमा पुर्याउनेछ। मलाई सहयोग गर्नुहुने प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका जनताप्रति म आभारी छु।”
नयाँ मुख्यमन्त्री र मन्त्रिमण्डलको शपथ ग्रहण भोलि वैशाख ३ गते हुने सम्भावना छ, जसमा प्रधानमन्त्री मोदीको समेत उपस्थिति रहने बताइएको छ।







डिसी नेपाल







Facebook Comment