आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज बुधबार विशेष अन्तरक्रिया गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राष्ट्रिय दलका समानुपातिक सांसदहरूलाई निमन्त्रणा गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, यस छलफलको मुख्य उद्देश्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदहरूको भूमिकालाई सदन र सरकारको नीति निर्माण प्रक्रियामा कसरी अझ बढी प्रभावकारी बनाउने भन्ने रहेको छ।
समानुपातिक सांसदहरूलाई संसदीय समितिहरूमा थप सक्रिय बनाउने र उनीहरूको विज्ञतालाई कानुन निर्माणमा कसरी जोड्ने भन्ने विषयमा छलफल हुने बताइएकाे छ।
प्रत्यक्ष निर्वाचित सांसदहरूको तुलनामा समानुपातिक सांसदहरूले विकास बजेट र योजना छनोटमा भोग्नुपरिरहेको विभेदलाई अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्रीले सुझाव लिने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले सार्वजनिक गरेको ‘१०० बुँदे सुशासन सुधार खाका’ कार्यान्वयनमा सबै सांसदहरूको साझा प्रतिबद्धता खोजिनेछ।
प्रधानमन्त्रीले यसअघि नै विभिन्न मञ्चहरूमा समानुपातिक सांसदहरू ‘दोस्रो दर्जा’ को नभई देशको भूगोल, वर्ग र समुदायको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण शक्ति भएको बताउँदै आएका छन्। आजको छलफलमा उनीहरूको मनोबल उच्च बनाउन र संसद्मा उनीहरूको आवाजलाई थप सशक्त बनाउने गरी विशेष कार्ययोजनाबारे छलफल हुने बताइएको छ।
हालै सार्वजनिक भएको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामाथि विभिन्न दलका सांसदहरूको धारणा बुझ्न पनि यो अन्तरक्रिया महत्त्वपूर्ण मानिएको छ। सरकारले चैत २७ गते सार्वजनिक गरेको शासन सुधारको मार्गचित्रलाई सफल बनाउन संसद्का सबै पक्षलाई समेट्ने प्रधानमन्त्री शाहको रणनीतिका रूपमा यसलाई हेरिएको छ।
अन्तरक्रियामा सहभागी हुनका लागि सबै दलका सचेतकहरू मार्फत सांसदहरूलाई जानकारी पठाइसकिएको प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ।







डिसी नेपाल







Facebook Comment