विश्व कला दिवस : मानसिक स्वास्थ्यका लागि पनि कला प्रभावकारी माध्यम

डिसी नेपाल
२ वैशाख २०८३ ९:०२
24
Shares

काठमाडौं । व्यस्त, प्रतिस्पर्धात्मक र तनावपूर्ण बन्दै गएको आधुनिक जीवनशैलीका बीच मानसिक स्वास्थ्य विश्वव्यापी चासोको विषय बनेको छ ।
मानिसहरू दैनिक रूपमा विभिन्न किसिमका दबाब, चिन्ता, निराशा र असन्तोषसँग जुधिरहेका छन् । यस्तो अवस्थामा कला ,संगीत, नृत्य, चित्रकला, अभिनय वा अन्य सिर्जनात्मक अभिव्यक्तिका माध्यमहरू मानसिक सन्तुलन कायम राख्ने प्रभावकारी उपायका रूपमा स्थापित हुँदै गएका छन् ।

कला केवल मनोरञ्जनको साधन मात्र होइन, मानिसको भित्री भावना बाहिर ल्याउने, मन हल्का बनाउने र सकारात्मक ऊर्जा सिर्जना गर्ने महत्वपूर्ण माध्यम हो । कलामार्फत मानिसले आफ्नो पीडा, खुसी, आक्रोश वा आशा सहज रूपमा अभिव्यक्त गर्न सक्छ ।

यही कारणले पछिल्लो समय मानसिक स्वास्थ्य सुधारका लागि ‘आर्ट थेरापी’ जस्ता अभ्यासहरू पनि विश्वभर प्रचलनमा आएका छन् ।
कला दिवसको अवसरमा नेपाल न्यूज बैंकले मनोचिकित्सक गोबिन्द ढकालसँग गरेको कुराकानीमा उनले कला मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

ढकालका अनुसार संगीत, नृत्य, चित्रकला, अभिनय जस्ता सिर्जनात्मक गतिविधिहरूले मानिसको निराशा, तनाव र चिन्तालाई कम गर्न सहयोग पु¥याउँछन्।
उनले भने,‘कला अभिव्यक्तिको शक्तिशाली माध्यम हो, जसले मानिसलाई मानसिक रूपमा सबल बनाउँछ । नृत्य पनि अभिव्यक्तिको माध्यम हो ।

तपाईंले संगीतहरु सुन्नुभयो अथवा संगीत बजाउनुभयो, इन्स्ट्रुमेन्टहरु बजाउनुभयो भने वा गुनगुनाउनु भयो भने पनि यी कुराहरुले मान्छेको निराशालाई कम गर्न मद्दत गर्छ । जुनसुकै कला किन नहोस्, संगीत किन नहोस्, गायन किन नहोस्, आँट किन नहोस्, डान्स किन नहोस्, यिनीहरुले पनि मानसिक रुपमा सबल बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्छ । तर सबैलाई त्यही रुचि हुन्छ भन्ने पनि छैन । रुचि अनुसार पनि प्रभाव पर्छ।’

उनले सबै व्यक्तिको रुचि फरक हुने भएकाले कला पनि रुचिअनुसार प्रभावकारी हुने बताए । धेरै मानिसमा संगीतप्रति आकर्षण देखिएपनि अन्य गतिविधि जस्तै ःचित्रकला, बगैँचाका काम, पशुपक्षीसँग समय बिताउने, सिलाइ–बुनाइले पनि तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

ढकालले मानसिक स्वास्थ्य केवल समस्या भएका व्यक्तिहरूका लागि मात्र नभई स्वस्थ्य व्यक्तिहरूका लागि पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे।
‘यस्ता गतिविधिले स्वस्थ्य व्यक्तिलाई पनि मानसिक रूपमा सन्तुलित र सशक्त राख्न मद्दत गर्छ,’ उनले भने ।
उनले पछिल्लो समय समाजमा बढ्दै गएका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरे । पोखरा, ललितपुरलगायत विभिन्न स्थानमा भएका घटनाले समाजमा मानसिक अस्वस्थ्यता, निराशा र कुण्ठा बढिरहेको संकेत गर्ने उनको विश्लेषण छ।

उनले सामाजिक असन्तुलन, आक्रोश र निराशा बढ्दै जाँदा अपराधका घटनाहरू वृद्धि हुने उल्लेख गर्दै दण्डहीनताको अवस्थाले यस्तो प्रवृत्तिलाई थप बढावा दिने धारणा राखे ।

‘पछिल्लो समयमा अत्याधिक हिंसाका घटनाहरु पनि बढ्दै गएका छन् । नयाँ सरकार बनिसकेपछि वा राजनीतिक परिवर्तन भइसकेपछि श्रृंखलाबद्ध रुपमा हत्या हिंसाका घटनाहरु बाहिर आइरहेका छन् । पोखरा र ललितपुरको घटना किन नहोस् यसले हाम्रो समाजमा अपराधका घटनाहरु बढ्दै जानु भनेको समाज मानसिक रुपमा अस्वस्थ्य हुनु हो । समाज मानसिक रुपमा कुण्ठित हुनु हो । अराजकता तिर समाज गइरहेको छ कि भन्ने चिन्ता बढ्दो छ । जब अपराध गर्नेले सजाय पाउँदैन, तब समाजमा गलत सन्देश जान्छ,’उनले भने।

ढकालले हालका आन्दोलन र राजनीतिक घटनाक्रमले पनि मानिसमा आक्रोश, डर र असन्तोष बढाएको बताए । यस्ता घटनाबाट प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्श आवश्यक रहेकोमा उनले जोड दिए।

उनका अनुसार राज्यले मानसिक स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको छ । ‘समाजमा देखिएका हिंसात्मक घटनाहरू मानसिक विचलनको संकेत हुन सक्छन्, त्यसैले सरकार गम्भीर भएर मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ,’उनले सुझाव दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *