हिन्द महासागरमा शरणार्थी सवार डुंगा पल्टिँदा २५० जना बेपत्ता
काठमाडाैं। हिन्द महासागर अन्तर्गतको अण्डमान सागरमा एउटा ठुलो मानवीय दुर्घटना भएको छ, जहाँ क्षमताभन्दा बढी यात्रु बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २५० जना शरणार्थीहरू बेपत्ता भएका छन्।
बंगलादेशको तटीय क्षेत्रबाट मलेसियातर्फ प्रस्थान गरेको उक्त डुंगामा मुख्यगरी रोहिंग्या शरणार्थी र केही बंगलादेशी नागरिकहरू सवार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त र बंगलादेशी अधिकारीहरूका अनुसार यो घटनाले समुद्रको बाटो भएर हुने अवैध र असुरक्षित आप्रवासनको जोखिमलाई पुनः एकपटक विश्वसामु उजागर गरिदिएको छ।
करिब २८० जना यात्रु बोकेर बंगलादेशको टेकनाफ क्षेत्रबाट सुरु भएको थियो। मानव तस्करहरूले राम्रो भविष्य र रोजगारीको प्रलोभन देखाई साना र कमजोर बनावटका डुंगामा मानिसहरूलाई कोचाकोच गरी चढाएका थिए।
यात्रा सुरु भएको केही दिनमै समुद्रको मध्यभागमा पुगेपछि खराब मौसम र अनियन्त्रित छालका कारण डुंगाले सन्तुलन गुमाएको र पानी भरिएर डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उद्धार गरिएका केही प्रत्यक्षदर्शीका अनुसार डुंगा पल्टिनुअघि नै इन्जिनमा खराबी आएको र यात्रुहरूबीच भागदौड मच्चिँदा स्थिति झनै भयावह बनेको थियो।
अहिलेसम्म बंगलादेश कोस्ट गार्डले नौ जनालाई मात्र जीवितै उद्धार गर्न सफल भएको छ। समुद्रमा तैरिरहेको अवस्थामा फेला परेका ती भाग्यमानी व्यक्तिहरूले आफ्ना सयौँ साथीहरू आँखाकै अगाडि डुबेको हृदयविदारक बयान दिएका छन्।
बेपत्ता भएका २५० जनाको खोजीका लागि जलसेना र तटरक्षक बल परिचालन गरिए पनि समय बित्दै जाँदा र समुद्रको प्रतिकूल अवस्थाका कारण उनीहरू जीवितै फेला पर्ने आशा न्यून हुँदै गएको छ। मारिने वा बेपत्ता हुनेहरूमा ठुलो संख्यामा महिला र बालबालिकाहरू समेत रहेको आशंका गरिएको छ।
दक्षिण पूर्व एसियाली देशहरूमा पुग्नका लागि रोहिंग्या शरणार्थीहरूले हरेक वर्ष अण्डमान सागरको यो जोखिमपूर्ण बाटो प्रयोग गर्ने गरेका छन्। म्यानमारमा जारी हिंसा र बंगलादेशका शिविरहरूमा रहेको कष्टकर जीवनबाट मुक्ति पाउन उनीहरू ज्यानकै बाजी लगाएर समुद्रमा हाम फाल्ने गर्छन्।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै क्षेत्रीय सरकारहरूलाई समुद्रमा अलपत्र परेका मानिसहरूको उद्धारका लागि तत्काल संयन्त्र बनाउन र मानव तस्करहरू विरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन्। यो घटनालाई यस वर्षकै सबैभन्दा ठुलो समुद्री दुर्घटनामध्ये एक मानिएको छ।







डिसी नेपाल







Facebook Comment