समानान्तर गतिविधि तीव्र पारेको भन्दै कांग्रेसद्वारा नेता खड्कासँग स्पष्टीकरण सोध्ने तयारी

डिसी नेपाल
२ वैशाख २०८३ १०:४०
656
Shares

काठमाडाैं। नेपाली कांग्रेसले पार्टीको नीति, विधान र आधिकारिक निर्णयविपरीत समानान्तर गतिविधि सञ्चालन गरेको अभियोगमा नेता खड्कासँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

पछिल्लो समय पार्टीको संस्थागत संरचनाभन्दा बाहिर गएर छुट्टै भेला, बैठक र साङ्गठनिक गतिविधिहरू तीव्र पारेपछि अनुशासन समिति र पार्टी नेतृत्व उनीप्रति आक्रामक देखिएको हो।

खड्काले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको दाबी गर्दै विभिन्न जिल्लाहरूमा आफ्नै समूह परिचालन गरेर समानान्तर समितिहरू गठन गर्ने प्रयास गरेपछि पार्टीले यसलाई गम्भीर अनुशासन उल्लंघनको रूपमा लिएको छ।

पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार खड्काका गतिविधिले संगठन सुदृढीकरण अभियानलाई प्रत्यक्ष असर पुर्‍याएको निष्कर्ष निकालिएको छ। पटक-पटक मौखिक रूपमा सचेत गराउँदा पनि आफ्ना अडान र गतिविधिबाट पछि नहटेका कारण उनलाई लिखित रूपमै स्पष्टीकरण सोध्नका लागि अनुशासन समितिले पत्र तयार गरिरहेको छ।

केन्द्रीय अनुशासन समितिको बुधबार बस्न गइरहेको बैठकले नेता खड्कालाई स्पष्टीकरण सोध्ने एक नेताले जानकारी दिए ।

विधानको धारा र उपधाराहरू उल्लेख गर्दै उनलाई निश्चित समय सीमाभित्र जवाफ दिन निर्देशन दिइने र उक्त जवाफ चित्तबुझ्दो नभए साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिने तयारीमा कांग्रेस नेतृत्व पुगेको छ।

विशेष गरी पार्टीका आधिकारिक उम्मेदवार र निर्णयहरू विरुद्ध सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चहरूमा अभिव्यक्ति दिएको र कार्यकर्तामाझ भ्रम सिर्जना गरेको आरोप खड्कामाथि लागेको छ।

खड्का पक्षले भने नेतृत्वले एकलौटी ढंगले निर्णय गर्ने गरेको र विधि र विधान मिचिएका कारण आफूहरूले रचनात्मक दबाब सिर्जना गर्न भेलाहरू गरेको तर्क गर्दै आएको छ।

यद्यपि, पार्टीले भने गुटगत स्वार्थका लागि गरिने यस्ता क्रियाकलापले संगठनलाई धराशायी बनाउने भन्दै अब कठोर कदम चाल्नुको विकल्प नरहेको जनाएको छ। यस निर्णयले कांग्रेसभित्रको आन्तरिक कलह थप सतहमा आउने र राजनीतिक सरगर्मी बढ्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *