कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, अभिव्यक्ति स्वतन्त्रता र संगठन सुदृढीकरण मुख्य एजेन्डा

डिसी नेपाल
२ वैशाख २०८३ १५:५९
28
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालयमा जारी रहेको छ। सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, आन्तरिक संरचना सुदृढीकरण तथा विभिन्न नीतिगत विषयमा विस्तृत छलफल भइरहेको छ।

बैठकमा विशेषगरी पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्ति, अभिव्यक्ति स्वतन्त्रता र त्यसको संरक्षणका विषयमा गम्भीर छलफल भइरहेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनका अनुसार कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै विधिको शासनलाई सुदृढ गर्ने सन्दर्भमा आफ्नो धारणा स्पष्ट बनाउने प्रयास गरिरहेको छ।

प्रवक्ता चालिसेले भने, ‘आजको महत्वपूर्ण एजेन्डा अभिव्यक्तिको स्वतन्त्रता र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिबारे हो। पार्टीले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने सन्दर्भमा व्यापक छलफल गरिरहेको छ।’

बैठकमा पार्टीको संगठनात्मक संरचना विस्तार, नीति तथा अनुसन्धान प्रतिष्ठान गठन, प्रशिक्षण प्रतिष्ठानको प्रभावकारी सञ्चालन तथा निर्वाचन व्युरो गठनबारे पनि छलफल भइरहेको छ। पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै रणनीतिक तयारी र आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न संरचनागत सुधार अघि बढाउने तयारी गरेको छ।

त्यसैगरी, निर्वाचन सम्बन्धी प्राविधिक विषयहरू समेटेर निर्वाचन व्युरो गठन गर्ने विषयमा पनि छलफल भएको छ। पार्टी स्रोतका अनुसार आगामी निर्वाचनलाई ध्यानमा राख्दै संगठनलाई चुस्त र प्रभावकारी बनाउने रणनीति बैठकको प्रमुख प्राथमिकतामा छ।

सार्वजनिक कार्यक्रमहरूलाई अझ व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ। पार्टीका गतिविधि र कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधिहरूलाई परिमार्जन गर्दै एकरूपता ल्याउने विषयमा समेत नेताहरूले विचार–विमर्श गरिरहेका छन्।

यस्तै, अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको छ।
पार्टीको आन्तरिक संरचना र सदस्य व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषय पनि बैठकको एजेन्डामा समावेश गरिएको छ। यस अन्तर्गत केन्द्रिय तहदेखि तल्लो तहसम्म पार्टी संरचना सुदृढ गर्ने र जिम्मेवारी स्पष्ट गर्ने विषयमा निर्णय लिने तयारी भइरहेको जनाइएको छ।

बैठक अझै जारी रहेको र विभिन्न निर्णयहरू क्रमशः सार्वजनिक गरिने पार्टीका प्रवक्ता चालिसेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *