सशस्त्र प्रहरीमा बढुवाको सरगर्मी: सात डीआईजीका लागि शक्तिकेन्द्र धाउँदै ब्याचमेटहरू
काठमाडौं। सशस्त्र प्रहरी बलमा रिक्त रहेको सात जना नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि दौडधुप चलिरहेको रहेको छ। डिआइजीमा पद रिक्त भए पनि सरकारले बढुवा प्रक्रिया नै रोकेपछि दौडधुप चलिरहेको छ।
नियमित अवकासमा गएका चार र दरवन्दी थप गरिएका तीन गरी सशस्त्रमा हाल सात डीआईजीको पद रिक्त छ। तर, रिक्त पदपूर्ति गर्न गृह मन्त्रालयले बढुवा प्रक्रिया रोकेर राखेको हो। मन्त्रालयले बढुवाका लागि उनीहरुको कार्यसम्पादन मूल्यांकन पठाउन भनेको छ।
गृहमन्त्रालयको जिम्मेवारी सुधन गुरुङले सम्हालेपछि उनीसँग चिनजान रहेका केही एसएपपीहरुले अप्रत्यक्ष रुपमा बढुवाका लागि दौडधुप गरहेका हुन्।
मन्त्री गुरुङ सशस्त्र प्रहरीको निरीक्षणमा पुगेका बेला एकाध एसएसपीहरुसँग चिनजान रहेको जानकारी दिएका थिए। चिनजनाकै आडमा रहेका र वरियतामा पछाडि रहेका केही एसएसपीहरुले मन्त्रीसँग सम्बन्ध बढाइरहेका छन्।
गृहसचिव अध्यक्ष रहेको सिफारिस समितिका आधारमा गृहमन्त्री स्तरीय निर्णयबाट डीआइजी बढुवा गर्ने व्यवस्था छ। तर, गृह मन्त्रालयले यसको प्रक्रिया नै अघि बढाएको छैन।
२ मंसिर २०८२ मा मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत गराउँदै प्रशासन (साधारण समूह) तर्फ दुई र कानुन समूहमा एक गरी तीन डीआईजी दरबन्दी थप गरेको भएपनि अहिलेसम्म अघि बढ्न सकेको छैन। गत २३ पुसमा डीआईजीहरु कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ अवकासमा गएका थिए।
त्यसको दुई महिनापछि १ फागुनमा अर्का डीआईजी कुमार न्यौपानेले पनि अवकास पाएका थिए। यसरी अवकाशमा गएका चार र दरवन्दी थप भई आएका तीनसहित रिक्त सात डीआईजीमा बढुवा रोकिएको हो।
रिक्त पदमा बढुवा गर्न तत्कालिन सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारकै पालामा प्रक्रिया अघि बढाउन खोजिएपनि विवाद पछि सुरु नै गरिएन। डिआइजीमा बढुवा नहुँदा सशस्त्र प्रहरीको वृत्ति विकासमा समेत अप्ठेरो परेको छ।
१३ चैतमा वालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले पनि बढुवा नगरी रोकेर राखेको हो। नेपाल प्रहरीबाट सेवा स्थानान्तरण भई सशस्त्रमा गएका एक र सशस्त्र प्रहरीकै दुई नम्बर बेसिकका १२ गरी कूल १३ जना प्रतिस्पर्धामा छन्।
दुई नम्बर बेसिकका दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट भने फागुन २०८१ मै डीआइजीमा बढुवा भइसकेका छन्। सोही ब्याजीका १२ र प्रहरीबाट आएका एकसहित १३ जना यो बढुवामा प्रतिस्पर्धामा छन्।
आइजीपी अर्याल अवकासमा जानु अघि नै रिक्त पदमा बढुवा गर्ने प्रयासमा महानिरीक्षक अर्याल रहेपनि गृहबाट प्रक्रिया अघि नबढेको हो। अर्याल अवकासमा गएपछि पौडेल र दाहाल नेतृत्वका लागि प्रतिस्पर्धामा छन्।
यद्यपि पौडेलभन्दा दाहाल वरियतामा पछाडि छन्। सशस्त्रमा रिक्त डीआइजीको बढुवा नयाँ आइजीपी आएपछि गर्नुपर्ने भन्दै गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठलाई दवाव बढाइएको र त्यहीकारण प्रक्रिया अघि नबढेको हुनसक्ने सशस्त्रकै एक अधिकारीको टिप्पणी छ।
बढुवा रोकिएका कारण सशस्त्र प्रहरी स्टाफ कलेज, नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत, नम्बर ७ वैद्यनाथ बाहिनी कैलाली हाल एसएसपीको भरमा राखिएको छ। त्यस्तै सशस्त्र प्रहरी प्रधान कार्यालय कार्य विभाग अन्तर्गतको निर्देशनालयको नेतृत्व पनि एसएसपीको भरमा छ।
त्यस्तै ओएन्डएम संशाेधन थप भएपछि प्रशासन तर्फ दुई र कानुन तर्फ एक डीआइजीमा पनि बढुवा हुन सकेको छैन। जसले गर्दा तल्लो तहमा रहेका सशस्त्र प्रहरीका अधिकारीहरुको बढुवा समेत असर गरेको छ।







डिसी नेपाल







Facebook Comment