कोलकातामाथि गुजरात टाइटन्सकाे ५ विकेटले शानदार जित
अहमदाबाद। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा कप्तान शुबमन गिलको उत्कृष्ट र विष्फोटक ब्याटिङको मद्दतले गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ।
नरेन्द्र मोदी स्टेडियममा भएको निकै रोमाञ्चक प्रतिस्पर्धामा गुजरातले कोलकाताद्वारा प्रस्तुत १८१ रनको लक्ष्यलाई अन्तिम ओभरमा पछ्याउँदै सफलता हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। कोलकाताका लागि क्यामरन ग्रीनले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा ७९ रनको योगदान दिएपनि टोलीका अन्य ब्याट्सम्यानहरूले भने गुजरातका बलरहरूसामु टिकेर खेल्न सकेनन्।
गुजरातको बलिङतर्फ कागिसो रबाडाले किफायती बलिङ गर्दै ३ विकेट लिए भने मोहम्मद सिराजले पनि २ विकेट हात पारेर कोलकाताको मध्यक्रमलाई तहसनहस बनाएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरात टाइटन्सको सुरुवात निकै सानदार रह्यो। टोलीका कप्तान शुबमन गिलले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ५० बलमा ८ चौका र ४ छक्कासहित ८६ रनको विष्फोटक इनिङ खेले।
गिलको यो इनिङले गुजरातको जितको जग निर्माण गरेको थियो। उनलाई जोस बटलर र साई सुदर्शनले राम्रो साथ दिएका थिए। कोलकाताका बलरहरूले मध्यक्रममा केही दबाब सिर्जना गरेपनि गुजरातको गहिरो ब्याटिङ लाइनअपले खेललाई सहजै आफ्नो पक्षमा पारेको थियो।
अन्तिम ओभरसम्म पुगेको खेलमा गुजरात टाइटन्सले १९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यो जितसँगै गुजरात टाइटन्सले अंक तालिकामा आफ्नो स्थान अझ बलियो बनाएको छ।
अर्कोतर्फ, लगातारको खराब लयबाट गुज्रिरहेको कोलकाता नाइट राइडर्सका लागि भने यो हारले चिन्ता थपिदिएको छ। कप्तान गिलको नेतृत्वमा गुजरातले प्राप्त गरेको यो जितले टोलीका खेलाडीहरूको मनोबल उच्च भएको छ। यो जीतसँगै गुजरात टाइटन्स तालिकाको चौथो स्थानमा उक्लिएको छ भने कोलकाता नाइट राइडर्स अंक तालिकाको पुछारमा यथावत छ।







डिसी नेपाल







Facebook Comment