कम्यूनिष्ट पार्टी स्थापना सम्झना मात्र होइन, चुनौतीसँग जुध्ने प्रतिबद्धता पनि हो : महेश बस्नेत

डिसी नेपाल
९ वैशाख २०८३ ९:४५

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसलाई सम्झना मात्र होइन चुनौतीसँग जुध्ने प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा स्मरण गर्नुपर्ने बताएका छन् ।

पार्टी स्थापना दिवसको शुभकामना दिँदै सचिव बस्नेतले सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर शेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि समाजमा अझ धेरै असमानता,बेरोजगारी,महँगी र निराशा बढेको उल्लेख गरेका छन् ।

बस्नेतले लेखेका छन् ‘श्रमिक र विद्यार्थीका सङ्गठनहरू खारेज गर्ने प्रयासले सरकार अधिनायकवादी बाटोमा उन्मुख भएको संकेत गरेको छ ।’
बस्नेतले कम्यूनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्य सहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिएको घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको बताएका छन् । सरकारको यस प्रकारको रवैयाले देशलाई फासिवादतर्फ लैजाने भएकोले यसको प्रतिकार गर्न उनले आह्वान गरेका छन् ।

बस्नेतले लेखेका छन् ‘आज आवश्यकता छ । नारा होइन,व्यवहारमा रूपान्तरणको । सत्ता होइन वा केन्द्रित राजनीतिको । विभाजन होइन,एकता र जनविश्वासको पुन निर्माणको ।’

बस्नेतले यही मूल मर्म बुझ्दै समानता,न्याय र श्रमिक अधिकारका लागि अझ सशक्त,जुझारु र संगठित ढंगले अघि बढ्नुपर्ने समय आएको बताएका छन् ।

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय अभियानलाई अझ प्रभावकारी बनाऔँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *