महान्यायाधिवक्ताविरुद्ध रिट निवेदनमा ‘कारण देखाउ आदेश’
काठमाडौं। महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यही वैशाख १७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाइएको हो। महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध बुधबार छुट्टाछुट्टै तीन रिट निवेदन दायर गरिएको थियो। आज उक्त विषयमा प्रारम्भिक सुनुवाइ भएर कारण देखाउ आदेश गरेको हो।
महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै शिवराज बराल, माधव बस्नेत, दीपकराज जोशीलगायत अधिवक्ताले रिट निवेदन दायर गर्नुभएको थियो। रिट निवेदनमा महान्यायाधिवक्ता जस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको उल्लेख छ। प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो।
सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई प्रधानमन्त्रीले महान्यायाधिवक्तामा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ। निरन्तर १५ वर्ष कानुन व्यवसायमा संलग्न व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा कँडेलको सो अनुभव नभएको रिट निवेदनमा उल्लेख गरिएको छ।







डिसी नेपाल







Facebook Comment