कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान

डिसी नेपाल
११ वैशाख २०८३ ७:३२

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न आज शुक्रबार निर्वाचन हुँदैछ। प्रतिनिधि सभामा ३८ सिट रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो संसदीय दलको नेता छान्नका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन प्रक्रिया अघि बढाएको हो।

यसअघि नै निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज मनोनयन दर्तादेखि मतदान र मतगणनासम्मका सम्पूर्ण प्रक्रिया सम्पन्न हुनेछन्।

निर्वाचन समितिका अनुसार आज दिउँसो मनोनयन दर्ताको समय तोकिएको छ भने त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। सबै प्रक्रिया पूरा भएपछि अपराह्नमा मतदान कार्य सुरु हुनेछ।

मतदान सम्पन्न भएसँगै आजै मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी समितिले गरेको छ। कांग्रेसको विधानबमोजिम दलको नेता बन्नका लागि कुल सांसद सङ्ख्याको बहुमत आवश्यक पर्छ।

यस पटकको संसदीय दलको नेताको निर्वाचनमा पार्टीभित्रका विभिन्न नेताहरूको नाम चर्चामा रहेको छ। संस्थापन र इतर समूहबाट प्रभावशाली नेताहरूले दलको नेतामा दाबी प्रस्तुत गर्दै आएका छन्।

विशेषगरी अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यजस्ता नेताहरूले दलको नेताका लागि आफ्नो बलियो दाबी पेस गरिरहेका छन्। पार्टीभित्रका आन्तरिक समीकरणहरूलाई मिलाउँदै संसदीय दलको नेता चयन गर्नु कांग्रेसका लागि यतिबेला निकै महत्त्वपूर्ण मानिएको छ।

निर्वाचन समितिका अनुसार प्रतिनिधि सभाका ३८ जना सांसदहरूले आज मतदानमा भाग लिनेछन्। चुनावी परिणामले आगामी दिनमा कांग्रेसको संसद्मा खेल्ने भूमिका र प्रतिपक्षीको रूपमा पार्टीलाई सशक्त बनाउन कस्तो नेतृत्व चयन गर्छ भन्ने कुराको छिनोफानो गर्नेछ। नेता चयन प्रक्रिया सुरु भएसँगै कांग्रेसभित्रको राजनीतिक वृत्तमा अहिले चुनावी सरगर्मी बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *