लोकतन्त्र स्थापनामा रामेछापको ऐतिहासिक योगदान : कृष्णलाल, गंगालाल र पुष्पलाल बलिदानी यात्रा

डिसी नेपाल
११ वैशाख २०८३ ८:४७

रामेछाप । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाको ऐतिहासिक संघर्षलाई स्मरण गर्दा रामेछाप जिल्लाको योगदान विशेष रूपमा उल्लेखनीय मानिन्छ ।

राणा शासनविरुद्धको विद्रोहदेखि पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनसम्म रामेछापमा जन्मिएका तीन ऐतिहासिक व्यक्तित्व—सुब्बा कृष्णलाल अधिकारी, अमर शहीद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपाली राजनीतिक इतिहासमा गहिरो छाप छाडेका थिए ।

यी तीनै व्यक्तित्व फरक–फरक विचारधारा र माध्यमबाट अघि बढे पनि उनीहरूको साझा उद्देश्य निरंकुश शासनको अन्त्य र जनताको शासन स्थापना गर्नु रहेको थियो ।

नेपालका प्रथम साहित्यिक सहिदका रूपमा चिनिने कृष्णलाल अधिकारीको जन्म वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्ला मन्थली नगरपालिका–२ कठजोरमा भएको थियो। लक्ष्मणराज अधिकारी र इन्द्रकुमारी अधिकारीका माहिला छोरा रहेका अधिकारी बाल्यकालमै वैवाहिक जीवनमा प्रवेश गरेका थिए। धर्मकुमारी सुवेदीसँग विवाह गरेका अधिकारीका एक छोरा र दुई छोरी थिए।

निजामती सेवामा सुब्बा पदमा कार्यरत रहेका अधिकारीले वि.सं. १९७७ मा ‘मकैको खेती’ नामक ६० पृष्ठको पुस्तक लेखेका थिए। उक्त पुस्तक नक्साल भगवती नजिक पशुपति छापाखानामा एक हजार प्रति छापिएको थियो।

पुस्तकमा प्रयोग भएका प्रतीकात्मक शब्दहरू र व्यंग्यात्मक शैलीका कारण तत्कालीन राणा शासकहरूले त्यसलाई आफ्नो शासनविरुद्धको आलोचना ठाने। विशेषगरी ‘रातो टाउको र कालो टाउको भएका कीरा’ भन्ने प्रसंगलाई चन्द्र शमशेर र भीम शमशेरप्रति व्यंग्य गरिएको रूपमा व्याख्या गरिएको थियो।

त्यसपछि वि.सं १९७७ साउन ११ गते अधिकारी पक्राउ परेका थिए र उनलाई नौं वर्षको जेल सजाय तोकिएको थियो । छापिएका एक हजार प्रतिमध्ये अधिकांश जलाइएका थिए भने एकप्रति पुस्तक अहिलेसम्म फेला परेको छैन ।

जेल जीवनकै क्रममा वि.सं. १९८९ मा कृष्णलाल अधिकारीको निधन भएको थियो। साहित्यिक अभिव्यक्तिकै कारण जीवन गुमाएकाले उनलाई नेपालको प्रथम साहित्यिक शहीदका रूपमा स्मरण गरिन्छ ।

रामेछापको भँगेरीमा वि.सं. १९७५ मा जन्मिएका गंगालाल श्रेष्ठ नेपाली प्रजातान्त्रिक आन्दोलनका एक साहसी युवा नेता थिए । पिता भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा रहेका श्रेष्ठले प्रारम्भिक शिक्षा भारतको कोलकातामा प्राप्त गरेका थिए ।

पछि काठमाडौं फर्किएर दरबार हाई स्कूलबाट वि.सं. १९९४ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका श्रेष्ठ त्रिचन्द्र कलेजमा विज्ञान अध्ययन गर्दै थिए। अध्ययनसँगै उनी राजनीतिक चेतनामा पनि सक्रिय भएका थिए ।

महावीर संस्थामार्फत राणा शासनविरुद्धका गतिविधिमा सहभागी भएका श्रेष्ठले असन र इन्द्रचोकमा वि.सं. १९९५ मा सार्वजनिक रूपमा राणा विरोधी भाषण दिएका थिए । त्यसपछि उनी पक्राउ परेका थिए तर पछि रिहा गरिएका थिए । त्यसपछि दशरथ चन्द लगायतसँगको सम्पर्कले उनलाई अझ सक्रिय भूमिगत राजनीतिक यात्रामा डोर्याएको थियो । वि.सं.१९९७ मा उनी प्रजापरिषद्को गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।

वि.सं.१९९७ माघ १५ गते उनलाई दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट बाहिर निकालेर शोभा भगवती क्षेत्रमा लगिएको थियो र त्यहीँ गोली हानी मृत्युदण्ड दिइएको थियो। त्यस घटनाले नेपाली जनतामा प्रजातन्त्रप्रतिको चेतना अझ तीव्र बनाएको थियो।

नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म वि.स.१९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो । भक्तलाल श्रेष्ठ र तुलसीकुमारी श्रेष्ठका माहिला छोरा रहेका पुष्पलाल बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्किएका थिए ।

उनीका दाजु गंगालाल श्रेष्ठको सहादतले उनको राजनीतिक जीवनमा गहिरो प्रभाव पारेको थियो । जेलमा भेटको क्रममा गंगालालले ‘प्रजातन्त्रका लागि बालिएको दियो तिमीले प्रज्वलित पार्नेछौ’ भनेका शब्दहरूले पुष्पलाललाई राजनीतिक यात्रातर्फ प्रेरित गरेका थिए ।

वि.सं. २००६ मा भारतको कलकत्तामा उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। माक्र्सवाद–लेनिनवादलाई आधार मानेर उनले नेपालको राजनीतिक आन्दोलनलाई वैचारिक दिशामा अघि बढाएका थिए ।

उनले कम्युनिष्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गरेर विचारधारालाई जनस्तरसम्म पु¥याउने काम गरेका थिए । यसले नेपालमा वामपन्थी राजनीतिक चेतनाको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको थियो । वि.सं. २०१७ पछि पञ्चायती व्यवस्थाको सुरुवातसँगै उनी भूमिगत र निर्वासित जीवन बिताउन बाध्य भएका थिए । तर त्यस अवधिमा पनि उनले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयास जारी राखेका थिए ।

उनले नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिहरूको संयुक्त आन्दोलनबाट मात्र पञ्चायती व्यवस्था अन्त्य हुन सक्ने धारणा अघि सारेका थिए, जुन पछि वि.सं. २०४६ को जनआन्दोलनमा व्यवहारिक रूपमा प्रमाणित भएको थियो ।

वि.सं. २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टिच्युटमा उपचारका क्रममा पुष्पलाल श्रेष्ठको निधन भएको थियो । रामेछाप जिल्ला नेपालको राजनीतिक इतिहासमा केवल भौगोलिक क्षेत्र मात्र नभई वैचारिक संघर्षको केन्द्रका रूपमा पनि स्थापित भएको छ। राणा शासन, प्रजातान्त्रिक आन्दोलन र पञ्चायती विरोधी संघर्षका विभिन्न चरणमा यहाँ जन्मिएका तीन ऐतिहासिक व्यक्तित्वहरूले महत्वपूर्ण भूमिका खेलेका थिए।

कृष्णलाल अधिकारीले साहित्यिक अभिव्यक्तिमार्फत शासनविरुद्ध आवाज उठाएका थिए। गंगालाल श्रेष्ठले युवा उमेरमै प्राण आहुति दिएर आन्दोलनलाई बलिदानको दिशामा पुर्याएका थिए। पुष्पलाल श्रेष्ठले वैचारिक र संगठनात्मक आधार तयार पारेर दीर्घकालीन राजनीतिक परिवर्तनको मार्ग खोलेका थिए।

लोकतन्त्र दिवस केवल राजनीतिक परिवर्तनको उत्सव मात्र नभई त्याग, संघर्ष र बलिदानको स्मरण पनि हो। रामेछापबाट उदाएका यी तीन ऐतिहासिक व्यक्तित्वहरूको योगदानले नेपालमा लोकतान्त्रिक व्यवस्थाको आधार तयार पारेको थियो।

उनीहरूको जीवन संघर्षले स्पष्ट सन्देश दिएको थियो–विचार, साहित्य र संगठनको माध्यमबाट पनि निरंकुश शासनविरुद्ध प्रभावकारी आन्दोलन सम्भव हुन्छ । रामेछापको माटोले जन्माएका यी तीन महान व्यक्तित्वहरूको योगदान नेपाली इतिहासमा सधैँ अमर रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *