प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो : प्रदीप पौडेल

डिसी नेपाल
२९ जेठ २०८३ १९:२९

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको प्रतिष्ठामा आघात पुगेको बताएका छन्।

नेपाल औषधि थोक व्यवसायी संघद्वारा आयोजित ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नयाँ सरकार गठन हुँदा सुधार, सुशासन र विकृतिको अन्त्य हुने अपेक्षा गरिएको भए पनि छोटो समयमै सरकारको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको बताए।

उनले भने, ‘नयाँ सरकार बन्यो। यो सरकारसँग धेरै ठूलो अपेक्षा थियो। सबै क्षेत्रका विकृतिहरू अन्त्य हुन्छन् र सुधार हुन्छ। सुशासन प्राप्त हुन्छ, नयाँ शिराबाट अगाडि बढ्ने स्थिति बन्छ। तर यति छिट्टै टिकाटिप्पणी गर्नुपर्ने स्थिति आउला भनेर कसैले कल्पनै गरेको थिएन। तर परिस्थिति यस्तो बनिरहेको छ कि एकदमै धेरै विश्वास गरेको प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको शिर निहुरिएको छ। लज्जाबोध गर्नुपर्ने स्थिति बनिरहेको छ। राष्ट्रियताकै मामिलामा, स्वाभिमानकै मामिलामा डिफेन्सिभ हुने अवस्था सिर्जना भएको छ। फौजदारी अभियोग लागेको, भ्रष्टाचारको मुद्दा लागेको सांसद पदमा रहिरहने स्थिति कायम भएको छ। कसैलाई आरोप लाग्छ, आफैं छानबिन समिति बनाइन्छ। प्रतिवेदन सार्वजनिक पनि हुँदैन।’

उनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रियता र स्वाभिमानको विषयमा देशलाई रक्षात्मक अवस्थामा पुर्याएको टिप्पणी गरे। प्रधानमन्त्रीप्रति जनताले अत्यधिक विश्वास गरेको उल्लेख गर्दै उनले त्यही विश्वासमाथि चोट पुग्ने अवस्था सिर्जना भएको बताए।

पौडेलले फौजदारी अभियोग तथा भ्रष्टाचारका मुद्दा खेपिरहेका व्यक्तिहरू सांसद पदमै कायम रहनु चिन्ताजनक भएको उल्लेख गरे। साथै, आरोप लागेका विषयमा स्वतन्त्र छानबिनको सट्टा सम्बन्धित पक्षले आफैं छानबिन समिति गठन गर्ने र त्यसको प्रतिवेदनसमेत सार्वजनिक नगर्ने प्रवृत्तिले सुशासनमाथि प्रश्न उठाएको उनको भनाइ थियो।

कार्यक्रममा उनले सरकार पारदर्शिता, जवाफदेहिता र सुशासनको मार्गमा अघि बढ्न नसके जनविश्वास थप कमजोर हुने चेतावनीसमेत दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *