नारायणी नदीमा बाढीको उच्च जोखिम: खतराको तह नाघ्यो, सुरक्षित स्थानतर्फ लाग्न आग्रह

डिसी नेपाल
११ असोज २०८३ ११:०२

काठमाडाैं। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका सहायक नदीहरूमा बाढीको उच्च जोखिम रहेको भन्दै विशेष सूचना जारी गरेको छ।

हाल नारायणी नदीमा जलसतह खतराको तह (९.० मिटर) नाघेर करिब ११.० मिटर पुगिसकेको छ र यो अझै बढ्दो क्रममा छ।

त्यस्तै, कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ भने सेती, मादी, मस्र्याङ्दी, दरौंदी र चेपे नदीमा सतर्कता तह नाघेर जलसतह बढिरहेको छ। बुढीगण्डकी र त्रिशूली नदीमा पनि बहाव सतर्कता तह नजिक पुगेर निरन्तर बढ्दै गएको छ।

देवघाट बाढी मापन केन्द्रका अनुसार आज दिउँसोसम्म नारायणी नदीको बहाव अझै बढ्ने देखिएको छ। आज दिनको ११ बजे आसपास जलसतह अधिकतम करिब १३.० मिटरसम्म पुग्न सक्ने र साँझसम्म नै खतराको तहभन्दा माथि रहने उच्च सम्भावना छ।

अत्यधिक बहावका कारण चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रहरूमा बाढी र डुबानको जोखिम निकै उच्च रहेको छ। तटीय क्षेत्र, नदी किनार, तल्लो भूभाग र कमजोर तटबन्ध वा संरचना भएका स्थानहरूमा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता छ।

जोखिमलाई ध्यानमा राख्दै चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दाहरूलाई तत्कालै सुरक्षित र अग्लो स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरिएको छ।

साथै, नारायणी र यसका सहायक नदीहरूका तटीय क्षेत्रमा आवतजावत नगर्न, नदी किनार, पुल तथा तटबन्ध आसपास अनावश्यक भिडभाड नगर्न र आज साँझसम्मै सबै सहायक नदी तथा खोलानालाहरूमा उच्च सतर्कता अपनाउन भनिएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने निर्देशन र बाढीसम्बन्धी सूचनाहरूको पूर्ण रूपमा पालना गर्न पनि महाशाखाले अपिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *