घट्दो विद्यार्थी संख्या रघुगंगाको मुख्य शैक्षिक चुनौति

सन्तोष गौतम
२९ जेठ २०८३ २२:५१

म्याग्दी। घट्दो विद्यार्थी संख्या म्याग्दीको रघुगंगा गाउँपालिकाको मुख्य शैक्षिक चुनौति बनेको छ। आठ वडा रहेको रघुगंगामा एक वटा कक्षा १२ र नौ वटा कक्षा १० सम्म पठनपाठन हुने सहित ३३ सामुदायिक र भगवतिमा एक निजी विद्यालय छन्। गाउँपालिकाको शिक्षा शाखाको अभिलेख अनुसार सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र २०८२ मा एक हजार नौ सय ३० जना विद्यार्थी भर्ना भएका थिए।

नौ विद्यालयमा दूइ अंक भन्दा कम र १५ मा तीन अंक भन्दा कम विद्यार्थी संख्या छ। तीन अंक भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालय चार वटा मात्र छन्। शैक्षिक सत्र २०८३ को जेठ तेस्रो सातासम्म रघुगंगाका सामुदायिक विद्यालयमा एक हजार तीन सय नौ जना विद्यार्थी भर्ना भएका शिक्षा शाखाका प्रमुख नहेन्द्रबहादुर क्षेत्रीले बताए। “यस वर्ष छ सय ४९ जना छात्रा र छ सय ६० जना छात्र भर्ना भएका छन्। यो संख्या केही बढ्ने भएपनि गत वर्षको हाराहारीमा नपुग्ने अनुमान गरेका छौ,” उनले भने “यस वर्ष बालकक्षामा भर्ना हुने छात्रा ९० जना र छात्र एक सय २४ जना छन्। गत वर्ष एक सय १९ छात्रा र एक सय ३८ जना छात्र बालकक्षामा भर्ना भएका थिए।”

बसाइँसराइ, वैदेशिक रोजगारीका कारण परिवार बाहिरिनु, निजी विद्यालयप्रतिको आकर्षण तथा जन्मदरमा आएको कमीका कारण विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको रघुगंगा गाउँपालिका–७ मा रहेको अमर माविका पुर्व प्रअ पृथ थापाले बताए।

“पहिले एउटै घरमा पाँच÷सात जना सम्म बच्चा हुन्थ्ये, अहिले मुस्किलले एक÷दुई जना बच्चा जन्मिएपनि बजार झरिहाल्ने प्रवृत्ति बढेको छ,” उहाँले भन्नुभयो “पहिलेका तुलनामा सुविधायुक्त भवन लगायत पूर्वाधार र प्रबिधीको प्रयोग गरेर पठनपाठन गराउन थालेपनि गाउँका विद्यालयमा विद्यार्थी टिकाउन गाहे भएको छ।

रघुगंगा गाउँपालिका–१ बादुकमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयमा यस वर्ष विद्यार्थी संख्या शून्यमा झरेको छ। गत वर्ष बालकक्षामा ४ जना विद्यार्थी थिए। भएका विद्यार्थी अन्यत्र गएका र नयाँ विद्यार्थी भर्ना हुन नआएपछि उक्त विद्यालय नाममा मात्र सिमित भएको छ।

कक्षा ८ सम्म पठनपाठन हुने श्रीकृष्ण आधारभूत तहघटुवा हुदै बन्द हुने अवस्थामा पुगेको हो। कुइने आधारभूतमा दुई जना, जनसुन्दर आधारभूतमा तीन जना, सुन्दर आधारभूतमा दुई जना, सिद्ध आधारभूतमा पाँच जना, जनसेवा आधारभूतमा सात जना, रघुगंगा आधारभूतमा सात र चिमखोला आधारभूतमा छ जना विद्यार्थी रहेका छन्। सबैभन्दा बढी मुक्तिधाम माविमा दुई सय ८० जना विद्यार्थी छन्। वि.स. २००६ मा स्थापना भएको मुक्तिधाम मावि म्याग्दीकै पुरानो मध्यको विद्यालय हो।

मुक्तिधाम माविमा भगवति, बेग, पिप्ले, दग्नाम सम्मका विद्यार्थी पढ्न आउँदा सात सय जना भन्दा धेरै विद्यार्थी हुन्थ्यो। मुक्तिधाम माविका प्रअ अमर केसीका अनुसार गत वर्ष तीन सय १४ विद्यार्थी रहेको उक्त विद्यालयमा २०८१ मा तीन सय ७४ जना थिए।

केही विद्यार्थीहरु बाहिरबाट भर्ना हुन आएपनि धेरै विद्यार्थीहरु पोखरा, बेनी जाने क्रम बढेको छ। बसाईसराई र सेवा क्षेत्रका आधारभूत विद्यालयले तल्लो तहका विद्यार्थी ‘होल्ड’ गर्दा विद्यार्थी संख्या कम भएको प्रअ केसीको भनाई छ।

बालीविज्ञान, कम्युटर, प्रयोगशाला र छात्रावास सुविधाले पनि विद्यार्थी आकर्षित गर्न नसकेकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो। रघुगंगा गाउँपालिकाले उक्त विद्यालयको कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि पक्की छात्रावास भवन निर्माण गरिदिएको छ। छात्रावास भवनलाई प्रयोगमा ल्याउन पहल र सहजिकरण आवश्यक छ।

मुक्तिधाम माविमा गाउँपालिकाले विद्यालयमा सभाहल भवन पनि निर्माण गरिदिएको छ। गाउँपालिकाले रघुगंगा–७ मा रहेको चिमखोला आधारभूत विद्यालयको भवन बनाउन यस वर्ष रु. ४० लाख बजेट बिनियोजन गरेको थियो। भवन निर्माण अन्तिम चरणमा रहेको उक्त विद्यालयमा विद्यार्थी संख्या जम्मा छ जना रहेको छ।

सरकारले तोकेको मापदण्ड र संख्या अनुसार विद्यार्थी नभएपछि २०८२ को माध्यमिक शिक्षा परिक्षा (एसइईमा) रघुगंगा गाउँपालिकाको एसईई परिक्षा केन्द्र बेनीमा सरेको छ। यसअघिको वर्षमा रघुगंगाका विद्यार्थीहरुको लागि मुक्तिधाम माविमा एसईइ परिक्षा केन्द्रको ब्यवस्था थियो। दुई सय भन्दा बढी विद्यार्थी संख्या हुनुपर्ने मापदण्डका कारण रघुगंगाको एसइई परिक्षा केन्द्र बेनीमा झरेको हो। रघुगंगाका १० माध्यमिक विद्यालययका एक सय ७३ जना विद्यार्थीले २०८२ को माध्यमिक शिक्षा परिक्षा एसईईमा भाग लिएका थिए। यस मध्ये एक सय ६३ जना ‘ग्रेडेड’ भएका छन्। कालिका मावि, महादेव मावि, रघुगंगा मावि, ज्ञानोदय मावि र महेन्द्र मावि झिँले यस वर्ष सतप्रतिशत नतिजा ल्याएका छन्। मुक्तिधाम माविकी रेजिना भण्डारी प्राबिधिक धारतर्फ जिल्ला प्रथम हुनुभएको छ।

२०८१ को माध्यमिक परिक्षामा एक सय ४३ जनाले सहभागिता जनाएकोमा ८८ जना ग्रेडेटेड भएका थिए। गत वर्षको तुलनामा २०८२ को नतिजामा सुधार आएको शिक्षा शाखाका प्रमुख नहेन्द्र क्षेत्रीले बताए।

गाउँपालिकाले वर्तमान शैक्षिक अवस्थाको विष्लेषण, आवश्यकता पहिचान र सुधारका कार्ययोजना सहित पञ्चवर्षीय शिक्षा योजना तयार पारेको छ। योजनाकै आधारमा विद्यालयका भौतिक संरचना निर्माण, प्रबिधिको विस्तार, शिक्षकहरुको क्षमता विकास, शैक्षिक गुणस्तर सुधार, विद्यालय समायोजन, दरबन्दी मिलान र शिक्षक व्यवस्थापनको काम थालिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो। “गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ र विद्यालयको आकर्षण बढाउन जोड दिएका छौ,” उहाँले भन्नुभयो “विद्यालयको भौतिक पूर्वाधार सुधार, सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइ, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्री व्यवस्थापन, अतिरिक्त क्रियाकलाप प्रवद्र्धन तथा विद्यालय अनुगमनलाई प्राथमिकतामा राखेका छौ।”

अध्यक्ष भण्डारीका अनुसार वार्षिक शैक्षिक योजना बनाएर कक्षागत पठनपाठनलाई पनि एकरुपता ल्याउने प्रयास भएको छ। माविका प्रअहरुलाई मासिक रु. एक हजार र आधारभूतका प्रअलाई मासिक रु. सात सयका दरले प्रोत्साहन भत्ता दिने ब्यवस्था मिलाइएको छ। विद्यालयको प्रशासनिक खर्चका लागि वार्षिक आधारभूतलाई रु. १० हजार र माविलाई रु. १५ हजारका दरले अनुदान दिने गरिएको छ।

एसइई नतिजाको आधारमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षक छनौट गरि पुरस्कृत गरिएको छ। बालविकास सहजकर्ताहरुका लागि पारिश्रमिकमा पालिकाले रकम थप गरेको छ। विद्यार्थी अभाव भएका विद्यालय समायोजन र कक्षा घटुवा गर्ने प्रक्रियाको थालनी भएको छ। कक्षा १, २ र ३ को स्थानीय पाठ्यक्रममा आधारित पुस्तक तयार र मगर बाहूल्य बस्तिका १४ वटा विद्यालयमा यस वर्षदेखि कक्षा १ मा मगर खाम भाषामा पठनपाठन शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए। “विद्यालय समायोजन, स्रोतको प्रभावकारी परिचालन तथा विषयगत शिक्षक व्यवस्थापनमार्फत शिक्षण सिकाइको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको छ,” उनले भने “विद्यार्थी संख्या न्यून भएका विद्यालयको अवस्थाबारे अध्ययन गरी आवश्यकतानुसार व्यवस्थापन गर्ने नीति लिइएको छ।”

गाउँपालिकाले विद्यालयमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने, अंग्रेजी माध्यम तथा प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने, बालविकास केन्द्रलाई थप प्रभावकारी बनाउने, विद्यालय र समुदायबीचको सहकार्य सुदृढ गर्ने तथा शिक्षकको पेशागत विकासमा लगानी बढाउन आवश्यक छ। स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउन सके घट्दो विद्यार्थी संख्या र गुणस्तरीय शिक्षासम्बन्धी चुनौतीको सामना गर्न सहज हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *