असोज १६ देखि कांग्रेस केन्द्रीय महाधिवेशन: तिथि-मिति एक घण्टा पनि सर्दैन : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीति, गरेका आर्थिक निर्णय र तय गरेका प्राथमिकतामाथि अध्ययन तथा अनुसन्धान गर्न जीपी कोइराला फाउन्डेसनलाई आग्रह गरेका छन्।
शुक्रबार जीपी कोइराला फाउन्डेसनको साधारणसभा (एजीएम) तथा नेतृत्व हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको व्यापक चर्चा भए तापनि उनका आर्थिक नीति र निर्णयका विषयमा भने पर्याप्त बहस हुन नसकेको बताए।
उनले वि.सं. २०४८ देखि २०५१ सालसम्मको अवधिलाई नेपालको आर्थिक विकास र संरचनात्मक सुधारका दृष्टिले अत्यन्तै महत्वपूर्ण समयका रूपमा व्याख्या गरे।
गिरिजाप्रसाद: ‘हाम्रा राजनीतिक कर्मका गुरु’
कार्यक्रममा थापाले गिरिजाप्रसाद कोइरालालाई आफ्नो राजनीतिक कर्मको नेता, अभिभावक र गुरुका रूपमा भावुक स्मरण गरे।
उनले भने, “गणेशमानजी, किसुनजी हाम्रा निम्ति राजनीतिक आदर्शका पात्रहरू हुनुभयो। बीपी कोइराला आस्थाको केन्द्र रहनुभयो। तर, म लगायत अहिले कांग्रेस पार्टीको मुख्य जिम्मेवारीमा रहनुभएका चाहे विश्वप्रकाश शर्मा हुनुहोस्, चाहे गुरु घिमिरे हुनुहोस्, चाहे प्रदीप पौडेल हुनुहोस्; सबैका लागि राजनीतिक कर्मको नेता, अभिभावक र राजनीतिक कर्मको गुरुको भूमिकामा चाहिँ निसन्देह गिरिजाप्रसाद कोइराला नै रहनुभयो।”
गिरिजाप्रसाद कोइरालासँगै आफूहरूको राजनीतिक व्यक्तित्व निर्माण भएको बताउँदै थापाले उनीसँगको सङ्गत, अन्तरक्रिया र राजनीतिक बहसका दिनहरू स्मरण गरे। बीपी कोइराला कांग्रेसका लागि आस्थाको केन्द्र भए पनि गिरिजाप्रसाद कोइरालाले आम कार्यकर्ताका लागि अभिभावकत्व प्रदान गरेको उनले उल्लेख गरे।
नेविसंघ राजनीति र सुजाता कोइरालाको साथ
थापाले आफ्नो राजनीतिक जीवनको सुरुवाती मोडमा सुजाता कोइरालाले दिएको सहयोगको स्मरणसमेत गरे। नेपाल विद्यार्थी सङ्घको राजनीतिमा आफूलाई बलियो अभिभावकत्व आवश्यक परेका बेला सुजाता कोइरालाको ठूलो साथ रहेको उनले खुलासा गरे।
“नेपाल विद्यार्थी सङ्घको राजनीतिमा जतिखेर मलाई असाध्यै धेरै ठूलो साथको आवश्यकता थियो, त्यतिबेला सुशील कोइराला महेन्द्र शर्मालाई बनाउन चाहनुहुन्थ्यो भने सुजाता दिदी मलाई बनाउन चाहनुहुन्थ्यो,” थापाले भने।
उदारीकरणको राजनीतिक मूल्य र आर्थिक सुधार
तत्कालीन सरकारले निजी क्षेत्रलाई विद्युत्, हवाई सेवा, टेलिफोन, मेडिकल कलेज तथा बैंकिङलगायतका क्षेत्रमा खुला गर्ने निर्णय गर्नु त्यस समयको ऐतिहासिक नीतिगत परिवर्तन भएको थापाले बताए। त्यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) लगायत कर प्रणालीमा गरिएको सुधारलाई उनले तत्कालीन समयका साहसिक कदमका रूपमा व्याख्या गरे। ती निर्णयहरू सुरुमा जोखिमपूर्ण देखिए पनि तिनैले नेपालको आधुनिक अर्थतन्त्रको जग बसालेको उनको भनाइ थियो।
आर्थिक उदारीकरणको नीतिका कारण कांग्रेसले लामो समयसम्म राजनीतिक आलोचना र आरोप खेप्नुपरेको थापाले स्मरण गरे। कांग्रेसमाथि ‘सरकारी उद्योग बेचुवा’को आरोप लाग्ने गरेको र त्यसको ठूलो राजनीतिक मूल्य पार्टीले चुकाउनुपरेको भए पनि गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजनीतिक लाभभन्दा मुलुकको दीर्घकालीन आर्थिक भविष्यलाई प्राथमिकता दिएको उनले बताए।
यिनै कारणहरूले गर्दा गिरिजाप्रसादको आर्थिक दृष्टिकोण, निर्णय र नीतिमाथि अनुसन्धान हुनुपर्नेमा जोड दिँदै उनले यसलाई फाउन्डेसनले मुख्य अध्ययनको विषय बनाउनुपर्ने आग्रह गरे।
वर्तमान अर्थतन्त्र र महाधिवेशनको कार्यतालिका
वर्तमान आर्थिक परिस्थितिबारे बोल्दै थापाले अहिलेको सरकारले अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट र ठोस निर्णय गर्नुपर्ने बताए। विपद्पछिको अवस्थामा मुलुकका अगाडि सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र नै हुने भएकाले स्रोत परिचालनका विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
यसैबीच, सभापति थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन तोकिएकै समयमा हुने दाबी गरे। असोज ४ गतेदेखि तल्लो तहका अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन अघि बढ्ने उनले स्पष्ट पारे।
“हामी संविधानले पनि बाँधिएका छौँ, पार्टीको विधानले पनि बाँधिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौँ। यो एक दिन पनि, एक घण्टा पनि यसको तिथि-मिति तल-माथि सर्दैन। ४ गतेबाट हाम्रो अधिवेशनका प्रक्रियाहरू प्रारम्भ हुन्छन् र १६ गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौँ र समयमै महाधिवेशन सम्पन्न गर्छौँ,” उनले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment