अल्जेरियाको त्यो अगस्त, ‘नेपाली ब्रदर’ शब्दभन्दा परको अधुरो माया

बंशीकुमार शर्मा
१५ वैशाख २०८३ ११:१२

सन् २००१ को अगस्त महिना विश्व युवा तथा विद्यार्थी सम्मेलनमा सहभागी हुन म अफ्रिकाको अल्जेरिया पुगेको थिएँ।

अगस्त ८ देखि १६ सम्म चलेको उक्त सम्मेलनमा विश्वका करिब दुई सय देशका युवा तथा विद्यार्थीहरूको सहभागिता थियो। विभिन्न भाषा, संस्कृति र पृष्ठभूमिबाट आएका ती युवाहरूबीच उत्साह, जिज्ञासा र मित्रताको अद्भुत वातावरण थियो।

कार्यक्रम स्थलदेखि केही टाढा हाम्रो बसोबासको व्यवस्था गरिएको थियो। मेरो कोठा दोस्रो तलामा थियो। सबैलाई छुट्टाछुट्टै कोठा दिइएको थियो। मेरो कोठाको अगाडि श्रीलंकाका केटीहरू बस्थे भने पूर्वतर्फ हंगेरीकी जोन ह्यारीको कोठा थियो।

श्रीलंकाका केटीहरू हिन्दी र अंग्रेजी राम्रोसँग बोल्थे, र म पनि ती भाषामा संवाद गर्न सक्थें। तर जोन ह्यारीको संसार फरक थियो उनी स्पेनिस र फ्रान्सेली मात्र बुझ्थिन्। अंग्रेजी वा हिन्दीको सामान्य शब्द पनि उनलाई थाहा थिएन।

तर भाषा नबुझे पनि भावना बुझ्न शब्दको आवश्यकता नपर्दोरहेछ। जोन ह्यारीले मलाई सधैं “नेपाली ब्रदर” भनेर सम्बोधन गर्थिन्। त्यो शब्द उनले कसरी सिकिन्, मलाई थाहा भएन। तर त्यो सम्बोधनसँगै आउने उनको मुस्कान अत्यन्तै निष्कपट र आत्मीय हुन्थ्यो।

उनी केवल बाहिरी रूपमा मात्र होइन, व्यवहार र सरलतामा पनि अत्यन्त आकर्षक थिइन्। सधैं हँसिलो अनुहार, सहजता र आत्मीयताले भरिएकी। हामी एकअर्कासँग खुलेर कुरा गर्न सक्दैनथ्यौं, तर माया भन्ने कुरा अनौठो हुँदो रहेछ भूगोल, जात, धर्म वा भाषाले कहिल्यै रोक्न नसक्ने। आँखाबाट भाव बुझ्न र बुझाउन सकिँदो रहेछ।

कार्यक्रम स्थलमा सँगै जानु, फर्किनु, खाना खानु यी सबै क्रियाकलापहरू स्वाभाविक रूपमा सँगै हुन थाले। खाना खाने बेलामा म नदेखिए उनी “नेपाली ब्रदर!” भन्दै ठूलो स्वरले बोलाउँथिन्। त्यो क्षणमा लाग्थ्यो भाषा नबुझे पनि सम्बन्ध कति सहज र स्वाभाविक हुन्दोरहेछ ।

हामी हाउभाउ, आँखा र मुस्कानमार्फत संवाद गथ्र्यौं। कहिलेकाहीँ शब्दभन्दा ती संकेतहरू अझ स्पष्ट लाग्थे। दिनहरू बित्दै गए, र मेरो मन पनि जोन ह्यारीतर्फ बग्न थाल्यो। नेपाल र हंगेरीबीचको दूरी भौगोलिक रूपमा टाढा भए पनि, हाम्रो मनबीचको दूरी भने घट्दै गएको अनुभूति हुन्थ्यो।

त्यो समय मोबाइल थिएन, सामाजिक सञ्जाल थिएन। फोटो खिच्नका लागि एउटा सामान्य क्यामेरा मात्र थियो। रिल सकिन्छ कि भन्ने डरले जोगाउँदै फोटो खिच्यौं।
एकदिन हामी समुद्र किनारमा गयौं। त्यो साँझ असाध्यै सुन्दर थियो।

अस्ताउँदै गरेको सूर्यको रातो आभाले समुद्रलाई राताम्मे बनाएको थियो। छालहरू उर्लिरहेका थिए, टाढाबाट पानीजहाजहरू बिस्तारै अघि बढिरहेका थिए। मानिसहरू आफ्ना गन्तव्यतर्फ हतारिँदै थिए, तर हामी भने एकअर्काको आँखामा हराइरहेका थियौं।

त्यो क्षणमा समय रोकिएको जस्तो लाग्यो। कहिलेकाहीँ मनलाई स्थिर बनाएर बस्नु पनि कति आनन्ददायी हुँदो रहेछ भन्ने अनुभूति भयो। हामी दुवैलाई रात नपरोस् भन्ने लागिरहेको थियो, तर प्रकृति आफ्नै गतिमा अघि बढिरहेकी थिइन्।

हामीसँग एक जना गाइड पनि थिए, जसले कोठामा फर्किन बोलाइरहेका थिए। तर हामी आफ्नै संसारमा हराएका थियौं। हामीलाई फर्किन भनिरहेको थियो। तर हामीले सुनेनौं। उनी रिसाउँदै आए र हामीलाई उठाएर लगे। हामी फेरि भीडमा फर्कियौं तर हाम्रो मन त्यहीँ समुद्र किनारमै छुटेको थियो।

त्यस रातभरि जोन ह्यारीको सम्झनाले मलाई सताइरह्यो। भाषा बुझ्ने भएको भए मनका कुरा साट्न सकिन्थ्यो होला भन्ने लागिरह्यो। उनको मुस्कान, उनको आवाज, “नेपाली ब्रदर!” सबै कानमा गुञ्जिरह्यो। मनमा एउटै कुरा घुमिरह्यो यदि भाषा बुझिन्थ्यो भने, के म उनलाई केही भन्न सक्थें?

भोलिपल्ट बिहानै “नेपाली ब्रदर!” भन्दै उनले मेरो ढोका ढकढकाइन्। म अझै तयार भइसकेको थिइनँ, तर उनी भित्र पसिन्। केही नबोली कफी बनाउन लागिन्। म बाथरूम गएँ, फर्किंदा कफी तयार थियो। फलफूल काटेर उनले सँगै खान इसारा गरिन्। हामी गफ गर्न सक्दैनथ्यौं, तर सँगै बस्न भने मन लाग्थ्यो।

हरेक दिन हामी कार्यक्रमका गतिविधिहरूमा सँगै हुन थाल्यौं। मैले उनलाई केही शब्द सिकाउने प्रयास गर्थें। उनी मुस्कुराउँथिन त्यो मुस्कानमा स्वीकृति, माया र अनेक भावना मिसिएका हुन्थे।

म भित्रभित्रै सोच्थें-  “तिमी यति धेरै मायाको हकदार छ्यौ, जति मेरो हृदयले अझै व्यक्त गर्न सकेको छैन।”

एकदिन हामी सहारा मरुभूमिबाट फर्किरहेका थियौं। गाडीमा जोन ह्यारी चुपचाप रोइरहेकी थिइन्। उनका आखाबाट आँसु बगिरहेका थिए। उनले किन रोइरहेकी थिइन्, म शब्दमा बुझ्न सकिनँ, तर उनको अनुहारले सबै कुरा भनिरहेको थियो-हाम्रो छुट्टिने समय नजिकिँदै थियो।

त्यो क्षणमा मैले महसुस गरें हाँसो र आँसुको भाषा संसारभर एउटै हुँदो रहेछ। छुटिने दिन आयो। भीड थियो, कोलाहल थियो, सबै आफ्नै यात्रामा व्यस्त थिए। तर म भने उनलाई मात्र खोजिरहेको थिएँ। उनी आइन्।

हामी एकअर्काको अगाडि उभियौं। अंकमाल गर्‍याैं आत्म एउटै भएको महशुस गर्‍यौं। उनले केही भन्न खोजिरहेकी थिइन् मैले बुझ्ने प्रयास गरेँ।  न कुनै वाचा भयो, न कुनै सम्पर्क। केवल एउटा अधूरो अमुक प्रेम।

हामी आ-आफ्नो देश र जीवनतर्फ फर्कियौं। उनले केही भन्न खोजिन्, म बुझ्न सकिनँ। तर उनका आँखाहरूले सबै कुरा भनिसकेका थिए। सायद उनी भन्न चाहन्थिन्-“केही सम्बन्धहरू शब्दमा बाँध्न सकिँदैनन्।” आज पनि, जब म त्यो अगस्त सम्झन्छु, मलाई टाढाबाट कसैले बोलाएको जस्तो लाग्छ–“नेपाली ब्रदर!” र म मुस्कुराउँछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *