गरिबी घटे पनि ग्रामीण-शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती
काठमाडौं। नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझैं कायम रहेको देखिएको छ। अर्थमन्त्रालयले सोमबार जारी गरेको आर्थिक स्थिति पत्रले उल्लेख गरेअनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गरिबीको दर उच्च रहेको पाइएको हो।
नेपाल जीवनस्तर सर्वेक्षण २०७८÷७९ अनुसार देशको कुल गरिबी दर २०.२७ प्रतिशत रहेको छ। शहरी क्षेत्रमा गरिबी दर १८.३४ प्रतिशत रहे पनि ग्रामीण क्षेत्रमा भने २४.६६ प्रतिशत रहेको छ । यसले ग्रामीण जनसंख्यामा अझै पनि आर्थिक अवसर र पूर्वाधारको अभाव रहेको संकेत गर्छ।
यसैगरी, बहुआयामिक गरिबीको दर पनि १७.४ प्रतिशत रहेको छ, जसमा शिक्षा, स्वास्थ्य र जीवनस्तरका सूचकहरू समेटिएका छन्। आर्थिक स्थिति पत्रमा उल्लेख छ,‘ग्रामीण क्षेत्रमा बहुआयामिक गरिबी अझ बढी देखिएको छ, जसले आधारभूत सेवामा असमान पहुँच रहेको देखाउँछ।’
बेरोजगारीतर्फ हेर्दा नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ। महिलामा बेरोजगारी दर १२.३ प्रतिशत रहेको छ भने पुरुषमा ९.१ प्रतिशत मात्रै रहेको छ। १५-२४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १८.९ प्रतिशत रहेको छ, जसले युवा वर्गमा रोजगारीको अभाव गम्भीर समस्याका रूपमा रहेको देखाउँछ।
लैङ्गिक समानताको क्षेत्रमा पनि प्रगति भए पनि असमानता अझै देखिन्छ। मानव विकास प्रतिवेदन २०२३-२४ अनुसार लैङ्गिक असमानता सूचकांक ०.४७८ रहेको छ। महिलाको श्रमशक्ति सहभागिता दर २६.४ प्रतिशत मात्र रहेको छ भने पुरुषको ७६.२ प्रतिशत रहेको छ। साथै, महिलाको औसत आम्दानी पनि पुरुषको तुलनामा कम रहेको देखिएको छ।
विशेषज्ञहरूका अनुसार गरिबी घट्दै जानु सकारात्मक संकेत भए पनि ग्रामीण विकास, रोजगारी सिर्जना र लैङ्गिक समानता प्रवद्र्धनमा थप प्रभावकारी नीतिगत हस्तक्षेप आवश्यक रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment