दलको नेतामा चयन भएलगत्तै सक्रिय भीष्मराज: पूर्णबहादुर र शेखरसँग गरे भेटवार्ता
काठमाडाैं। नेपाली कांग्रेस संसदीय दलकाे नेतामा निर्विराेध निर्वाचित भएपछि भीष्मराज आङदेम्बेले आफ्नो सक्रियता बढाएका छन्।
जिम्मेवारी सम्हालेलगत्तै उनले पार्टीका शीर्ष नेताहरूसँगको संवादलाई तीव्रता दिँदै राजनीतिक समन्वयको प्रयास थालेका हुन्। यसै क्रममा उनले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
आङदेम्बेले सबैभन्दा पहिला पार्टीको संस्थापन पक्षका बलिया आधार मानिने खड्कालाई भेटेर पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन्। पार्टीभित्रको आन्तरिक एकता र संसदीय दलमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विषयमा खड्कासँग उनको लामो परामर्श भएको बताइएकाे छ।
विशेषगरी पार्टीको कार्यदिशा र संसदीय दलको रणनीतिका सम्बन्धमा दुई नेताबीच भएको यो भेटलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ। संस्थापन पक्षको साथ र सहयोग सुनिश्चित गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने आङदेम्बेको योजनाका रूपमा यसलाई हेरिएको छ।
खड्कासँगको भेटपछि आङदेम्बेले संस्थापन इतर समूहका प्रभावशाली नेता डा. शेखर कोइरालाको निवासमा पुगेर संवाद गरेका छन्। पार्टीभित्रको गुटगत समीकरणलाई सन्तुलनमा राख्न र सबैलाई समेटेर अगाडि बढ्ने सन्देश दिनका लागि उनले कोइरालासँग छलफल गरेका हुन्।
भेटमा आङदेम्बेले दलको नेताको रूपमा आफू सबैको साझा व्यक्तित्व बन्ने प्रतिबद्धता जनाउँदै कोइरालाको सुझाव र साथको अपेक्षा गरेका छन्। कोइरालाले पनि संसदीय भूमिकामा रहेर पार्टीको गरिमा बढाउने गरी काम गर्न आङदेम्बेलाई आग्रह गरेका छन्।
आङदेम्बेको यो सक्रियतालाई कांग्रेस वृत्तमा सकारात्मक रूपमा हेरिएको छ। विशेषगरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मत्थर पार्दै संसदीय भूमिकालाई सशक्त बनाउने उनको चाहनाका रूपमा यसलाई विश्लेषण गरिएको छ।
दुवै शीर्ष नेताहरूसँगको भेटले पार्टीको आन्तरिक एकतालाई थप मजबुत बनाउन र संसदीय दलको कामलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। नेताहरूसँगको संवादपछि आङदेम्बेले पार्टीभित्रको विश्वास जित्दै थप ऊर्जाका साथ आफ्नो जिम्मेवारी अगाडि बढाउने देखिएको छ।







डिसी नेपाल







Facebook Comment