नेपाललाई ‘बुद्ध जन्मेको देश’का रुपमा गर्व गरेर हुँदैन, बुद्ध शिक्षा-दर्शनलाई लागू गर्नुपर्छ
काठमाडौं। बुद्ध दर्शनका अध्येता, विश्लेषक तथा सामाजिक अभियन्ता बुद्ध छिरिङ मोक्तानले वर्तमान विश्वमा बढ्दो उपभोक्तावाद र मानसिक तनावका बीच गौतम बुद्धको ‘मध्यम मार्ग’ झन् सान्दर्भिक बन्दै गएको बताएका छन्।
बुद्ध जयन्तीको सन्दर्भमा नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले बुद्ध दर्शनको दार्शनिक, सामाजिक-राजनीतिक र विश्वव्यापी प्रभावबारे विस्तृत धारणा राखेका हुन्।
मोक्तानका अनुसार बुद्ध दर्शनलाई केवल धार्मिक दृष्टिले मात्र नभइ गहिरो दार्शनिक प्रणालीका रूपमा बुझ्न आवश्यक छ । उनका अनुसार दर्शनशास्त्रभित्र ‘तत्वमीमांसा’ (अस्तित्वको विज्ञान) नामक शाखाले ब्रह्माण्डको अन्तिम सत्यको खोजी गर्छ।
वैदिक परम्परामा यसलाई ‘ब्रह्म’ भनिएपनि बौद्ध परम्पराले चेतनाको अन्तिम अवस्थालाई ‘बुद्ध’ को रूपमा व्याख्या गरेको उनले बताए। ‘सम्यक सम्बुद्ध भनेको सम्पूर्ण सृष्टिको अन्तिम सत्यमा पुगेको अवस्था हो, र सिद्धार्थ गौतम त्यसको एक उदाहरण हुन,’ उनले भने।
उनका अनुसार एशियामा हजारौं वर्षदेखि वैदिक, बौद्ध र भौतिकवादी तीन प्रमुख विचारधाराबीच दार्शनिक बहस हुँदै आएको छ, जसले पूर्वीय ज्ञान प्रणालीलाई समृद्ध बनाएको छ। विशेषगरी आचार्य नागार्जुन र आदि शंकराचार्य जस्ता चिन्तकहरूले यी बहसलाई उचाइ दिएका थिए।
मोक्तानले बुद्ध दर्शनको सामाजिक-राजनीतिक प्रभावलाई ‘क्रान्तिकारी’ रूपमा व्याख्या गरेका छन्। उनका अनुसार बुद्ध धर्मले समाजमा विद्यमान उच्च-निम्न विभाजनलाई चुनौती दियो र समानताको अवधारणा स्थापित गर्याे।
‘बुद्धिज्मले सामाजिक विभाजनलाई तोडेर राजनीतिक रूपमा पनि ठूलो परिवर्तन ल्यायो। यसले तल्लो वर्गका मानिसलाई पनि सत्तामा पुग्ने अवसर दियो,’ उनले बताए। आर्थिक दृष्टिले पनि बुद्ध धर्मको प्रभाव महत्वपूर्ण रहेको उनको भनाइ छ।
प्राचीन ‘सिल्क रोड’ व्यापारिक मार्ग बौद्ध व्यापारीहरूद्वारा विस्तार भएको उल्लेख गर्दै उनले कला, संस्कृति र व्यापार आदानप्रदानमा बुद्धिजमको भूमिका उल्लेखनीय रहेको बताए । साथै, नालन्दा विश्वविद्यालय, तक्षशिला जस्ता शैक्षिक केन्द्रहरूको विकासमा पनि बौद्ध परम्पराको योगदान रहेको उनले बताए।
विश्वव्यापी रूपमा बुद्ध दर्शनको स्वीकार्यता तीन तह (एकेडेमिक अध्ययन, ध्यान अभ्यास र सांस्कृतिक प्रभाव) मा देखिएको उनले बताए। उनका अनुसार आज विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा ‘बौद्ध अध्ययन’ प्रमुख विषयका रूपमा पढाइ हुन्छ भने ध्यान केन्द्रहरूमा बौद्ध विधि व्यापक रूपमा प्रयोग भइरहेका छन्।
विशेषगरी मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा बुद्ध दर्शनको प्रभाव उल्लेखनीय रहेको मोक्तानको भनाइ छ। उनले विपश्यना ध्यान जस्ता अभ्यासहरू विश्वभर लोकप्रिय बन्दै गएको उल्लेख गर्दै सैन्य अधिकारीदेखि वैज्ञानिक समुदायसम्मले यसलाई अपनाइरहेको बताए।
पश्चिम एशियामा बढ्दो द्वन्द्व र अस्थिरताका सन्दर्भमा उनले भविष्यमा मानिसहरू शान्ति र मानसिक सन्तुलन खोज्दै बौद्ध दर्शनतर्फ आकर्षित हुने दाबी गरे। ‘द्वन्द्वले थाकेका मानिसहरू अन्ततः शान्तिको खोजी गर्छन् र त्यो खोजीमा बुद्ध दर्शन महत्वपूर्ण आधार बन्न सक्छ,’ उनले भने।
उनले वर्तमान समाजमा बढ्दो भौतिकवाद र उपभोक्तावादका बीच बुद्धको ‘मध्यम मार्ग’ अत्यन्त सान्दर्भिक रहेको बताए।
‘अत्यधिक भोग वा अत्यधिक त्याग दुबै चरम अवस्था हुन्। मध्यम मार्गले सन्तुलन सिकाउँछ, जुन आजको समाजका लागि अत्यन्त आवश्यक छ,’ उनले जोड दिए। उनका अनुसार बुद्ध दर्शन केवल आध्यात्मिक अभ्यास मात्र नभइ आधुनिक विश्वका जटिल समस्या समाधान गर्ने व्यवहारिक मार्ग पनि हो।
आधुनिकीकरणको बहसबीच बुद्ध दर्शनको पुनरागमन
मोक्तानले नेपालको आधुनिकीकरण प्रक्रिया ‘लेफ्ट’ र ‘सेन्टर-लेफ्ट’ विचारधाराबाट प्रभावित भएको बताएका छन्। उनले पछिल्लो ७० वर्षमा विकसित भएको आधुनिकीकरणको मोडलले परम्परागत ज्ञान प्रणालीलाई उपेक्षा गरेको टिप्पणी गरे।
मोक्तानका अनुसार नेपालको आधुनिकीकरण प्रक्रियामा बीपी कोइराला जस्ता ‘सेन्टर–लेफ्ट’ र पुष्पलाल श्रेष्ठ जस्ता ‘लेफ्ट’ विचारकहरूको प्रभाव प्रमुख रह्यो। साहित्य, कला, संगीत र विश्वविद्यालय शिक्षामार्फत यी विचारधाराहरू समाजमा गहिरोसँग प्रवेश गरेको उनले बताए।
‘यो प्रक्रियामा हाम्रो प्राचिन ज्ञान, सनातन प्रज्ञा र मौलिक परम्परालाई निषेध गरेर युरोपेली ज्ञान प्रणालीलाई स्थापित गर्ने काम भयो,’ उनले भने। उनका अनुसार यस्तो विकास मोडलले अपेक्षित ‘समृद्धि र सुख’ दिन नसकेको र उल्टै समाजलाई उपभोक्तावाद र लोभतर्फ धकेलेको दाबी गरे।
डिजिटल युगमा ध्यानको सम्भावना
डिजिटल प्रविधिको तीव्र विस्तारसँगै ध्यान अभ्यासको सान्दर्भिकता झन् बढेको मोक्तानको भनाइ छ। उनले ध्यानलाई प्राकृतिक (इन्स्टिन्क्टिभ), प्रतिबिम्बात्मक (रिफ्लेक्टिभ) र गहिरो साधनात्मक गरी तीन तहमा व्याख्या गरे। उनका अनुसार सामान्य स्तरको ध्यान त मानिसमा स्वाभाविक रूपमा भइरहन्छ भने दोस्रो तहको ध्यानका लागि डिजिटल प्लेटफर्म प्रभावकारी माध्यम बन्न सक्छ।
‘अनलाइन कक्षा, संवाद र प्रविधिले मानिसलाई आत्मचिन्तनतर्फ आकर्षित गर्न सक्छ,’ उनले बताए । साथै विपश्यना ध्यान जस्ता विधिहरू विश्वभर लोकप्रिय बन्दै गएको उल्लेख गरे।
द्वन्द्वबीच शान्तिको सम्भावना
विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र द्वन्द्वका बीच पनि शान्ति सम्भव रहेको मुक्तानको धारणा छ । उनले समाजमा द्वन्द्व र सहमति दुवै प्रक्रिया सँगसँगै चल्ने बताए । ‘समाजको स्थायी चरित्र शान्ति हो, द्वन्द्व त अस्थायी अवस्था मात्रै हो,’ उनले भने ।
कार्ल माक्र्सले उठाएको ‘अन्तर्विरोध’ को अवधारणालाई उल्लेख गर्दै उनले समाज परिवर्तनका क्रममा द्वन्द्व देखिएपनि त्यसैभित्र नयाँ ज्ञान र चेतनाको विकास हुने बताए । उनका अनुसार अहिलेको विश्व ‘संक्रमणकाल’ मा रहेको छ, जहाँ पूरानो ज्ञान प्रणालीको सीमा देखिँदै गएको छ र नयाँ ज्ञान प्रणाली निर्माण हुँदैछ । यस्तो अवस्थामा पूर्वीय दर्शन विशेषतः वैदिक, बौद्ध र जैन परम्पराले पुनः विश्वलाई मार्गदर्शन गर्ने सम्भावना रहेको उनले बताए ।
‘मानिस अन्ततः शान्ति, करुणा र सन्तुलन खोज्छ । बुद्ध दर्शनले यही सन्तुलन र मध्यम मार्गको शिक्षा दिन्छ, जुन आजको विश्वका लागि अत्यन्त आवश्यक छ,’ मुक्तानले जोड दिए ।
युवालाई बुद्ध दर्शनसँग जोड्न डिजिटल प्लेटफर्म प्रभावकारी
मोक्तानले नवपुस्तालाई बुद्धको शिक्षा र दर्शनसँग जोड्न डिजिटल प्लेटफर्म सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्। हामीसँगको कुराकानीमा उनले प्रविधि, शिक्षा र नीतिगत सुधारमार्फत बुद्ध दर्शनलाई नयाँ पुस्तामा विस्तार गर्न सकिने धारणा राखे
मोक्तानका अनुसार अहिलेको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स, अनलाइन कक्षा र सामाजिक सञ्जालले ज्ञान प्रसारलाई सहज बनाएको छ। ‘डिजिटल प्लेटफर्ममार्फत ध्यान, दर्शन र आत्मचिन्तनका विषयलाई युवामाझ सजिलै पुर्याउन सकिन्छ,’ उनले भने। साथै विपश्यना ध्यान जस्ता अभ्यासलाई पनि प्रविधिसँग जोडेर लोकप्रिय बनाउन सकिने उनले बताए।
उनले शिक्षा प्रणालीमा सुधारको आवश्यकता औंल्याउँदै विद्यालय र विश्वविद्यालयस्तरमै बौद्ध दर्शनसम्बन्धी गहिरो अध्ययनको व्यवस्था गर्नुपर्ने बताए । उनका अनुसार पश्चिमी देशहरूमा जस्तै संरचित ‘बौद्ध अध्ययन’ कार्यक्रम नेपालमा अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन । ‘सरकारले लगानी गरेर विश्वविद्यालयमा गुणस्तरीय कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ उनले सुझाव दिए ।
मोक्तानले पछिल्लो ७० वर्षको आधुनिकीकरण प्रक्रियामा नेपालले आफ्नै परम्परागत ज्ञान प्रणालीलाई उपेक्षा गरेको टिप्पणी गरे । ‘हाम्रो प्राचिन प्रज्ञा प्रणालीलाई ‘सामन्तवाद’ भन्दै निषेध गरियो, जसले ठूलो बौद्धिक क्षति भयो,’ उनले भने। अब भने यही ज्ञान प्रणाली २१औँ शताब्दीका लागि आवश्यक ‘विजडम पावर’ भएको उनले दाबी गरे।
नेपाललाई ‘बुद्ध जन्मेको देश’ भनेर गर्व गर्नु मात्र पर्याप्त नभएको भन्दै उनले व्यवहारमा बुद्धको शिक्षा लागू गर्नुपर्नेमा जोड दिए। सिद्धार्थ गौतमको शिक्षालाई राज्य सञ्चालन (स्टेटक्राफ्ट) र व्यक्तिगत जीवन (सोलक्राफ्ट) दुवैमा लागू गर्नुपर्ने उनले बताए।
‘हाम्रो ज्ञान प्रणाली केवल सजावटका लागि होइन, यो जीवन र समाज निर्माणको आधार हो,’ उनले भने । उनका अनुसार सत्य (सत), चेतना (चित) र आनन्द (आनन्द) प्राप्त गर्न बुद्ध दर्शनको सही अभ्यास आवश्यक छ। बुद्ध जयन्तीलाई केवल औपचारिकतामा सीमित नगरी त्यसको सन्देश व्यवहारमा उतार्नुपर्ने उनले उल्लेख गरे।







डिसी नेपाल







Facebook Comment