निवन्धः स्मृतिका घुम्तीहरूको दैलो उघार्दै

ज्ञानेन्द्र विवश
१९ वैशाख २०८३ १०:१५

विस्मृत स्मृतिका धमिलो रेखाहरू मनको क्षितिजमा यसरी जेलिएका थिए, जस्तो कि कुहिरोले ढाकेको कुनै अपरिचित पहाड। आँखाले देख्नु केही छैन मात्र सम्झनाको तरेलीमा बयली खेल्दै हिँड्नुपर्छ।

स्मृतिका घुम्तीहरूको दैलो उघार्दै म यात्रा हिँडिरहन्छु। बादल फाटेपछि, मौसम उघ्रिएपछि मैले कल्पना नै नगरेको दृश्य देख्न सक्छु भन्ने मेरो लोभ यति तीब्र थियो कि मेरो धैर्य हिँडाइमा गतिमान भइरहेको थियो।

मेरा पाइलाहरू अगाडि बढिरहेका त थिए, तर तिनमा कुनै निश्चित गन्तव्यको उत्साह थिए। मनमा विगतका यात्राका अनेकौँ पहेलीहरू- ती अधुरा कुराकानीहरू, ती बितेका क्षणहरू ओहोर-दोहोर गरिरहेका थिए।

यात्राको बाटो सहज थिएन। हिउँले ढाकेको कठिन ओरालो र उकालो छिचोल्नुको सास्ती एकातर्फ थियो, त अर्कातर्फ आकाशबाट बर्सिएको पानीमा निथ्रुक्क भिजेर ओत लाग्ने ओभानो ओत नपाउँदाको छटपटी। शरीर थकित थियो, पेटमा भोकको आगो दन्किरहेको थियो।

पाइला सार्न मुस्किल भइरहेको त्यो क्षणमा, लाग्थ्यो- समय नै कतै रोकिएको छ र म समयको त्यही ठिहिर्‍याउने चिसोमा कतै कक्रक्क परेर हराएको छु।
म अवाक बनेर बाटोको एउटा भित्तामा अडेसिएँ। सास फेर्नै गाह्रो भइरहेको थियो। जति हिँडे पनि गन्तव्य सधैँ टाढिएको जस्तो लाग्ने त्यो अनौठो भ्रममा म रुमल्लिरहेको थिएँ।

तर, प्रकृतिको काखमा रम्नुको मजा नै यही रहेछ-जहाँ पीडाको ठीक छेउमा आनन्दको बिउ रोपिएको हुन्छ। त्यही बेला, मेरा आँखाले अचानक एउटा अलौकिक दृश्य देख्यो।

भर्खरै फुल्न थालेका राता लालीगुराँसका फेदमुनि नौरङ्गी डाँफेका जोडीहरू चरिचरनमा मग्न थिए। त्यो दृश्य- प्रकृतिको त्यो जीवन्त कलाले मेरो चेतनामा बिजुलीझैँ काम गर्‍यो।

ओहो, कुन जादु थियो त्यो क्षणमा ? मेरो भोक, त्यो शरीरको थकाइ, त्यो चिसोको पीडा, अनि हिजोका ती विस्मृत स्मृतिका बोझहरू- सबै केही क्षणमै कता हराए, कता !

मलाई लाग्यो- म आफूलाई खोज्दै हिँडेको यात्रामा अन्ततः आफैँभित्रको प्रकृतिको सौन्दर्यसँग साक्षात्कार हुँदैछु।

बिस्तारै बादलहरूले बाटो छोडे। आकाशको क्षितिजमा चाँदी जस्तै टल्किएका हिमालहरूले आफ्नो भव्यता क्रमशः प्रदर्शन गर्न थाले। पहाडको काखबाट झर्दै गरेको झरनाको कलकल आवाजले मेरो कानमा प्रकृतिको संगीत घन्काइरहेको थियो। झरनाको त्यो मनोरम दृश्य बल्ल आँखाले देख्न पायो।

यी सबै पलहरू देखेर म भावविभोर भएँ । मलाई अब अरू केही चाहिएन। मैले खोजेको, मैले पाउनुपर्ने र मैले महसुस गर्नुपर्ने सम्पूर्णता त यही त थियो।
मेरो यात्राको उद्देश्य कुनै भौतिक गन्तव्य पुग्नु थिएन रहेछ। बरु आफैँलाई प्रकृतिको यो सुन्दर संसारमा बिलय गराउनु रहेछ।

अब मसँग विस्मृतिको जालोमा जेलिएर भौतारिनुपर्ने कुनै बाध्यता बाँकी रहेन। हिउँको चिसो र भोकको पीडा अब पुराना यादहरूमा रूपान्तरित भइसकेका थिए। मेरो अगाडि अब केवल सौन्दर्य थियो, प्रकृतिको त्यो अनुपम शान्ति थियो।  म आफैँ त्यो शान्तिको एउटा हिस्सा बनिरहेको थिएँ।

प्रकृतिको काखमा पुगेपछि मानिसले आफ्ना सबै दुःख बिर्सिदिन्छ भन्थे, आज मैले त्यो अनुभव गरेँ। साँचो अर्थमा, यो यात्रा मेरा लागि एउटा आत्मिक पुनर्जन्म थियो । मैले भेट्नुपर्ने सुन्दरतालाई मेरा आँखाले पिएर तृप्त भइरहेका थिए

विस्मृत स्मृतिको जालोमा जेलिँदै मैले घिस्रिएर हिँडाइरहेका ती पाइलाहरू वास्तवमा प्रकृतिको असीम काखमा पुग्ने एउटा मन्द र अर्थपूर्ण गति मात्र रहेछन्। जब म त्यो दृश्यको सामुन्ने उभिएँ, म त आफैँलाई बिर्सिएर प्रकृतिको काखमा अनायासै लुटुपुटु गर्न पुगेछु।

विगतका ती सबै दुःखका स्मृतिहरू, मनका कुनाकाप्चामा थुनिएका ती कैरनहरू र ती सबै भारीहरू-सबैलाई चटक्कै बिर्सेर म वर्तमानको यो दिव्य सुन्दरतामा आफूलाई पूर्ण रूपले समर्पण गर्न पुगेँ।

मेरो मनमा प्रश्न उठ्यो- मेरो देशको यो कस्तो अद्भुत र विछट्टको सौन्दर्य ! शब्दहरूले यसलाई व्याख्या गर्न असमर्थ छन्; सायद, प्रकृतिलाई शब्दमा उनेर माला गाँस्न सकिँदैन, अनुभव मात्रै गर्न सकिन्छ।म यहाँको पहाडको उचाइ, झरनाको वेग र हिमालको धवल मुस्कान देखेर नतमस्तक हुन पुग्छु।

मलाई लाग्छ- यो कुनै जमिनको टुक्रा होइन, यो मेरो अस्तित्वको प्राण हो। मेरो देशको विराट गौरवशाली धरा-धाम हो। सौन्दर्यको अनुपम भण्डार हो।
संसारका कुना-कुनाबाट यात्रीहरू यही मौलिक सौन्दर्यलाई आफ्ना आँखाहरूले पिउन, आफ्नो मनको प्यास मेटाउन हजारौँ माइल पार गरेर आउँछन्। उनीहरूले टाढा-टाढादेखि खोज्दै आउने ‘स्वर्ग’ त हाम्रै आँगनमा, हाम्रै पाखा-पखेरुमा यति उदार भएर पोखिएको रहेछ!

आज मलाई बोध भयो- म त कति धनी रहेछु कि यो प्राकृतिक वैभवको काखमा मेरो जन्म भयो। म कति भाग्यमानी रहेछु! अन्ततः, यो यात्रा मेरो पाइलाको मात्र साहस थिएन; यो त मेरो मनको एउटा लामो खोज थियो, जुन आज यहाँ आएर विश्राम लिएको छ। अब मसँग न कुनै भोकको छटपटी छ, न त कुनै विस्मृतिको जालोमा अल्झिनुपर्ने बाध्यता।

अन्ततः अब मेरो यात्रा सकिएको छ, तर मेरो भित्रको मान्छे यो प्रकृतिको अगाध प्रेमले सिञ्चित भएर पुनर्जीवित भएको छ। अब म फेरि पनि भन्छु- मेरो देश, तिमी साँच्चै नै सुन्दर छौ, अनि म तिम्रो यो काखमा सधैँ यसरी नै हराइरहन चाहन्छु।

हो, धेरैलाई लाग्न सक्छ यी अक्षरहरू अर्थहीन बक्बक हुन्। तर म भन्छु- यो त हजारौँ शब्दहरूको मिलनले बनेको एउटा सिर्जनात्मक ‘यज्ञ’ हो। मेरा प्रत्येक निबन्धमा भावनाको यस्तो सन्तुलित समायोजन हुन्छ, जहाँ न कुनै शब्द बढी हुन्छ, न कुनै अर्थ कम।

यसरी म आफूलाई निबन्धको पानामा निर्बन्ध पोख्छु, त्यो वास्तवमा मेरो अनुभवको लामो सिलसिलालाई सौन्दर्यको भाव-रेखामा उतार्नु हो। स्मृतिका घुम्तीहरूको दैलो उघार्नु पनि हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *