हजारौं विद्यार्थीहरूलाई सपनाको उडान दिने पानी ट्यांकी

डिसी नेपाल
१९ वैशाख २०८३ १०:४४

काठमाडौं । ‘यो पानीको ट्याङ्कीले मेरो जीवन पूर्ण रूपमा बदलिदियो। यसैले मलाई स्नातक बनायो र चार पैसा कमाउने अवसर दियो। यसले मलाई १० देखि १२ वर्षसम्म खाना खुवायो। यसले मलाई मानिसहरूसँग बोल्न र परिवारको हेरचाह गर्न सिकायो। यदि यो पानीको ट्याङ्की मेरो जीवनमा नभएको भए, मेरो अस्तित्व नै हुने थिएन।’

वेन्नेलाले भावुक हुँदै बीबीसीसँग त्यो पानीको ट्याङ्कीको बारेमा कुरा गरिन्, जुन उनको जीवनको आधार बनेको छ। जब उनका आमाबुबा उनलाई विवाह गरिदिएर घर पठाउन चाहन्थे, तब उनले यसै पानीको ट्याङ्कीमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिइन्।

पानीको ट्याङ्कीभित्र बसेर पढ्नु कस्तो हुन्छ भन्ने जान्नका लागि हैदराबादको मियापुर मातृश्री नगरमा रहेको ‘वाटर ट्याङ्क स्कूल’ का बारेमा बुझ्न आवश्यक छ। यो पानीको ट्याङ्की कोलोनी वेलफेयर सोसाइटीको हो। यो ट्याङ्की तीन तलामा फैलिएको छ, जसको पहिलो दुई तलामा कोठाहरू छन्। त्यहाँ अहिले बालबालिकाहरूका लागि कक्षाहरू सञ्चालन भइरहेका छन्। पहिलो तलामा एउटा कम्प्युटर ल्याब पनि छ।

हरेक साँझ ५:३० बजे एउटा भ्यान आउँछ र पानीको ट्याङ्की अगाडि रोकिन्छ। केही बालबालिकाहरू त्यहाँ ओर्लन्छन् र पढ्नका लागि पानीको ट्याङ्कीमा चढ्छन्। केही समयपछि अन्य बालबालिकाहरू पनि त्यहाँ आइपुग्छन् र सूर्यास्तसम्म अध्ययन गर्छन्। पोथुकुची सोमसुन्दरा सोशल वेलफेयर एण्ड च्यारिटेबल ट्रस्ट (पीएसएस ट्रस्ट) ले यी सबैलाई एकजुट गराएको छ र उनीहरूलाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ।

वेन्नेला तिनै विद्यार्थीहरूमध्ये एक हुन्, जसले ट्रस्टको सहयोगमा अध्ययन गरिन्। उनका बुबा सुरक्षा गार्डको रूपमा काम गर्थे भने आमाले चिया पसल चलाउँथिन्। वेन्नेलाले बीबीसीलाई बताइन्, ‘जब म डिप्लोमाको अन्तिम वर्षमा थिएँ, तब मेरा आमाबुबाले मेरो विवाह गरिदिने निर्णय गर्नुभयो। म विवाह गर्न चाहन्नथेँ र पढाइ जारी राख्ने कुरा गरेँ, तर उहाँहरूले मेरो कुरा सुन्नुभएन। म धेरै दिनसम्म रोइरहेँ। त्यतिबेला मैले श्रीनिवास सरलाई फोन गरेँ। उहाँ आएर मेरा आमाबुबालाई मलाई पढ्न दिन मनाउनुभयो।”

वेन्नेलाका अनुसार डिप्लोमादेखि इन्जिनियरिङसम्मको पढाइका लागि ट्रस्टले उनको शुल्क र किताब लगायतका सबै आर्थिक आवश्यकताहरू पूरा गरिदियो। उनी हाल हैदराबादको ‘हुण्डाई ट्रान्सिस’ नामक कम्पनीमा रिसर्च इन्जिनियरको रूपमा कार्यरत छिन्। वेन्नेला भन्छिन्, ‘मेरा आमाबुबा अहिले मप्रति धेरै गर्व गर्नुहुन्छ। जो पहिले स-साना काम गरेर गुजारा गर्नुहुन्थ्यो, आज यसै ट्रस्टका कारण उहाँहरूको छोरी सिसाको अफिसमा बसेर काम गर्न सक्षम भएकी छ। यो पानीको ट्याङ्कीले साँच्चै मेरो जीवन बदलेको छ।”

पोथुकुची श्रीनिवासले गरिब बालबालिकाको शिक्षाको आवश्यकता पूरा गर्ने उद्देश्यले १५ अगस्ट २००३ मा आफ्ना बुबाको नाममा ‘पोथुकुची सोमसुन्दरा सोशल वेलफेयर एण्ड च्यारिटेबल ट्रस्ट स्कूल’ (निःशुल्क कोचिङ इन्स्टिच्युट र ट्युसन सेन्टर) को स्थापना गरेका थिए। श्रीनिवास भन्छन्, “म एक पटक सरकारी विद्यालय गएको थिएँ। त्यहाँका बालबालिकालाई देखेपछि मलाई लाग्यो कि शिक्षा विद्यालयमा मात्र होइन, विद्यालयपछिको समयमा पनि उत्तिकै जरुरी छ। बालबालिकाहरू विद्यालयपछि पनि पढाइमा केन्द्रित हुन् र कुनै नराम्रो लतमा नफसून् भन्ने विश्वासका साथ यो ट्रस्ट स्थापना गरिएको हो।”

सुरुवातमा ट्युसन कक्षाहरू एउटा सानो झुपडीमा सञ्चालन गरिन्थ्यो। सन् २००८ मा उनीहरू मातृश्री नगरको एउटा पानीको ट्याङ्की नजिक बस्न गए। श्रीनिवासका अनुसार पानीको ट्याङ्की मुनिका कोठाहरू पहिले प्रयोगविहीन अवस्थामा थिए, त्यसैले उनले कोलोनीका बासिन्दाहरूको सहयोगमा बालबालिकालाई पढाउन सो ठाउँको प्रयोग गर्न थाले।

ट्रस्टले कक्षा ९ देखि डिप्लोमा र बी.टेक. सम्मको पढाइका लागि ट्युसन र करियर मार्गदर्शन प्रदान गर्दछ। ट्रस्टको व्यवस्थापनमा संलग्न श्रीधरका अनुसार यहाँ आउने सबै बालबालिकाहरू गरिब परिवारका छन् र सरकारी विद्यालयमा पढ्छन्। विद्यालयपछि हरेक दिन बालबालिकाहरू पानीको ट्याङ्कीमा पढ्न आउँछन्। बिदाका दिनमा उनीहरू बिहान ९ देखि राति ९ बजेसम्म त्यहीँ बसेर पढ्छन्। ट्रस्टले छात्राहरूका लागि विद्यालय आउन-जान विशेष भ्यानको व्यवस्था समेत गरेको छ।

पोथुकुची श्रीनिवास भन्छन्, “बालबालिकाहरू विद्यालय सकिने बित्तिकै यहाँ आउँछन्। पहिले उनीहरूलाई पढाउन शिक्षकहरू हुन्थे, तर अहिले यहाँका पुराना (सिनियर) छात्रछात्राहरूले नै सानालाई पढाउँछन्। उनीहरू आफैँ पनि पढ्छन् र साना बालबालिकाका जिज्ञासाहरू पनि मेटाउँछन्।” उनले थपे, “भोको पेटले पढाइमा ध्यान दिन सकिँदैन, त्यसैले हामी यहाँ खानाको पनि व्यवस्था गर्छौँ।”

यो एउटा पानीको ट्याङ्की भए तापनि सुरक्षाका सबै उपायहरू अपनाइएको श्रीनिवास बताउँछन्। त्यहाँ सीसीटीभी क्यामेराहरू जडान गरिएका छन् भने ट्याङ्कीसम्म जाने सिँढीमा रेलिङ लगाइएको छ। छात्राहरू सुरक्षित रूपमा घर नपुगुन्जेल उनीहरूको सुरक्षाको जिम्मेवारी ट्रस्टले नै लिने गरेको छ।

बी.टेक. दोस्रो वर्षका छात्र रामकृष्ण कक्षा ९ देखि नै यहाँ आइरहेका छन्। समाचार टोली पुग्दा उनी एकातिर परीक्षाको तयारी गर्दै थिए भने अर्कोतिर खाना पकाउँदै थिए। रामकृष्ण भन्छन्, “हामी आफ्नो काम आफैँ गर्छौँ। यसले गर्दा हामी सानै उमेरमा व्यवस्थापन गर्न सिक्छौँ। बी.टेक. र डिप्लोमा गरिरहेका विद्यार्थीहरूले आफ्नो अनुकूलता अनुसार काम बाँडफाँट गर्छौँ।”

श्रीधरका अनुसार यहाँ आउने बालबालिकाहरूले पढाइका साथै खाना पकाउने, सरसफाइ गर्ने र ट्रस्टको खर्च व्यवस्थापन गर्ने जस्ता सबै कामहरू आफैँ गर्छन्। यो ट्रस्टले कक्षा ९ र १० को शिक्षा दिनुका साथै डिप्लोमा र इन्जिनियरिङका विद्यार्थीहरूको शुल्क र अन्य आर्थिक भार समेत व्यहोर्दछ।

ट्रस्टलाई सीएसआर (कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी) अन्तर्गत विभिन्न दाता र कम्पनीहरूबाट सहयोग प्राप्त हुन्छ। साथै, यहाँबाट शिक्षा पूरा गरेर जागिर खाइरहेका व्यक्तिहरूले पनि आर्थिक सहयोग गर्ने गरेका छन्। श्रीनिवासका अनुसार अप्रिल २०२६ सम्ममा यस ट्रस्टको सहयोगमा १५३१ जनाले विद्यालय शिक्षा पूरा गरिसकेका छन्। १२०० भन्दा बढीले डिप्लोमा पूरा गरे र तीमध्ये करिब ९०० जनाले रोजगारी पाएका छन्। त्यस्तै, २२५ जनाले इन्जिनियरिङ पूरा गरेकोमा २१३ जना रोजगारीमा आबद्ध भइसकेका छन्।

आर्थिक कठिनाइहरू आए पनि कार्यक्रममा कुनै असर पर्न नदिएको र दाताहरूको सहयोगले बालबालिकाको शिक्षा निर्बाध रूपमा चलिरहेको श्रीनिवास बताउँछन्। ट्रस्टबाट पढेका साईराम हाल यूबीएस बैंकमा कार्यरत छन् र उनी आफ्नो खाली समयमा पानीको ट्याङ्कीको रेखदेख गर्छन्। उनी भन्छन्, “यहाँबाट पढेकाहरूले आर्थिक सहयोग मात्र गर्दैनन्, धेरैजना खाली समयमा साना विद्यार्थीहरूलाई पढाउन पनि आउँछन्।”

श्रीनिवासले आफूले कसैलाई पनि सहयोगका लागि दबाब नदिने र यहाँको काम मन पराउनेहरूबाट मात्र दान स्वीकार गर्ने स्पष्ट पारेका छन्। हाल उनीहरूले पानीको ट्याङ्की बाहेक अन्य ८ क्षेत्रमा पनि ‘शिक्षा सेतु’ कार्यक्रम अन्तर्गत २३ वटा केन्द्रहरू स्थापना गरेका छन्, जहाँ करिब एक हजार बालबालिकाहरूले अध्ययन गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *