सुनको मूल्यमा भारी वृद्धि: एकैदिन ५ हजार ८ सयले बढ्यो, चाँदीले पनि पार गर्यो ५ हजारको विन्दु
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा बुधबार ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो केही समयदेखि उतारचढाव भइरहेको सुनको मूल्य गत बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँ रहेको थियो, जुन आजको तुलनामा २ हजार ३ सय रुपैयाँले कम हो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदी तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च तहमध्ये एक हो। गत बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र डलरको भाउ बलियो हुँदा नेपाली बजारमा यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन्। लगनको सिजन नजिकिँदै गर्दा सुनचाँदीको मूल्य आकासिएपछि उपभोक्ताहरू मर्कामा पर्ने देखिएको छ।







डिसी नेपाल







Facebook Comment