हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

डिसी नेपाल
२७ वैशाख २०८३ २०:४०

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्। सरकारका पछिल्ला कदमहरू लोकतन्त्रको मर्मविपरीत रहेको भन्दै उनले राजीनामा मागेका हुन्।

सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष साम्पाङले २३ वटा बुँदागत कारण प्रस्तुत गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीको राजीनामा माग्नुको मुख्य कारणमध्ये सीमा रक्षामा भएको कमजोरी र नेपाली सेनाको दुरुपयोग प्रमुख रहेको बताए।

‘प्रधानमन्त्रीले सीमा रक्षामा चुक्नुभएको छ र नेपाली सेनाको दुरुपयोग गरिरहनुभएको छ। सेनालाई ठूला प्राकृतिक प्रकोप वा संकटकालमा मात्र निकाल्नुपर्छ, सुकुम्बासी बस्तीतिर घुमाउने र लगत संकलनमा लगाउने काम सेनाको होइन,’ उनले भने।

अध्यक्ष साम्पाङले सरकारले संसद्लाई उपेक्षा गरेर अध्यादेशको बाटो रोजेकोमा समेत आपत्ति जनाए। उनले सार्वभौम संसद्लाई छलेर ल्याइने अध्यादेशले लोकतन्त्रमाथि नै प्रश्न उठाएको तर्क गरे।

‘संसद् भनेकै लोकतन्त्र हो, तर संसद् छलेर अध्यादेशको बाटो रोज्नु भनेको लोकतन्त्र नमान्नु हो। छिटो डेलिभरी दिने बहानामा विधि मिच्न पाइँदैन। जसरी छिटो धन कमाउन मान्छेले तस्करी वा भ्रष्टाचार गर्छ, सरकारले पनि अध्यादेशमार्फत त्यस्तै गलत बाटो रोजेको छ,’ उनले भने।

न्यायपालिकाको नियुक्तिमा वरिष्ठता मिचिएको विषयलाई पनि उनले प्रधानमन्त्रीको राजीनामाको कारणका रूपमा अघि सारे। चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर सरकारले न्यायालयलाई विवादमा तानेको उनको आरोप छ।

‘विधिभन्दा बाहिर गएर किन काम गर्नुपर्‍यो ?’ उनले प्रश्न गरे, ‘सरकारले विधि मान्ने र विधि बनाउने हो, तर यहाँ त विधिको हुर्मत लिने काम भएको छ।’

सञ्चारकर्मीले उनले राष्ट्रपतिलाई ‘यार’ र उपसभामुखलाई ‘बहिनी’ भनेर सम्बोधन गरेको विषयमा सोधेको प्रश्नमा साम्पाङले संसद्‌भित्रको मर्यादा र बाहिरको बोली फरक हुने तर्क गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *