तरुण दलको नेतृत्व चयनमा विधान मिचिए ‘समानान्तर समिति’ गठन गर्ने चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नयाँ नेतृत्व चयनका लागि आन्तरिक तयारी तीव्र पारेको छ।
केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्यान्डेटअनुसार पार्टीले नयाँ नेतृत्व ल्याउने गृहकार्य सुरु गरेसँगै संगठनभित्र कलह र असन्तुष्टि समेत देखिन थालेको छ।
विशेषगरी सामाजिक सञ्जालमा केही निश्चित व्यक्तिको नाम अध्यक्षका रूपमा चर्चामा आएपछि तरुण दलका नेता तथा कार्यकर्ताहरूले विधानअनुसार तदर्थ समिति गठन गर्नुपर्ने माग राख्दै नेतृत्वलाई दबाब दिएका हुन्।
गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समयमै महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेसँगै तरुण दलको नयाँ नेतृत्वको चर्चा सुरु भएको हो।
निवर्तमान अध्यक्ष विद्वान गुरुङले राजीनामा दिइसकेको अवस्थामा महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी सभापति गगन थापालाई सुम्पिएको छ।
यद्यपि, नेतृत्वले विधानको धज्जी उडाएर नयाँ नियुक्ति गर्न खोजेको भन्दै असन्तुष्ट पक्षले विधि र विधान उल्लंघन भएमा देशभर ‘समानान्तर समिति’ गठन गर्ने चेतावनी दिएका छन्।
पार्टीका तत्कालीन महामन्त्री तथा वर्तमान सभापति गगन थापाकै पालामा पारित भएको तरुण दलको विधान (सातौँ संशोधन) को दफा ४३ उपदफा (२) ले अध्यक्ष पदका लागि कडा योग्यता तोकेको छ।
जसअनुसार अध्यक्ष बन्नका लागि केन्द्रीय कार्यसमितिमा कम्तीमा एक कार्यकाल सदस्य भएको वा प्रदेश तथा जिल्ला अध्यक्षका रूपमा एक कार्यकाल नेतृत्व गरेको अनुभव हुनुपर्ने साथै संगठनको सदस्य भएको १० वर्ष पूरा हुनुपर्ने अनिवार्य व्यवस्था छ।
नेतृत्वमा पुग्नका लागि विगतमा विधान र पद्धतिको कुरा गर्नेहरूले नै अहिले आफ्नै पालामा बनेको विधान मिच्न खोज्नु नैतिक रूपमा गलत भएको भन्दै कार्यकर्ताहरूले आक्रोश व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment