कांग्रेस सभापति थापा भन्छन्- पार्टीको बृहत्त एकता अहिलेको अपरिहार्यता हो
सुर्खेत। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको बृहत्त एकताका लागि आफू तयार रहेको बताएका छन्।
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले पार्टीलाई हित नगर्ने भन्दै त्यसको पार्टी एकताका लागि आफूले पहल थालेको बताए।
कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय निर्वाचन समीक्षा भेलालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन्।
विशेष महाधिवेशनपछि संस्थापन इतरपक्षले गरिररहेको क्रियाकलापहरुले पार्टीलाई हित नगर्ने उनले बताए। ‘पार्टीको बृहत्तर एकता जोगाउनु कहाँ के गर्नुपर्छ गरांै’ उनले भने, ‘चौथो महाधिवेशनबाट केन्द्रीय समितिमा रहेका साथीहरुलाई केन्द्रीय समितिमै रहेर काम गर्न मन छ भने विधि र पद्धतीमा रहेर त्यो पनि गरौं।’
सदस्यता छानविन समितिमा कसलाई लैजानुपर्ने हो ? निर्वाचन समितिमा कसलाई लैजाने छलफलका माध्यमबाट अगाडि बढ्न आफू नेतृत्वका हिसाबले तयार रहेको उनले बताए।
पार्टीका नेताहरु डा.शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर पार्टी एकताका लागि कहाँ के गर्नुपर्छ भनेर संवाद सुरु गरेको उनले जानकारी दिए।
पार्टीमा विशेष महाधिवेशन पक्ष र विपक्ष भनेर भेदभाव नहुनेपनि सभापति थापाले स्पष्ट पारे। ‘हिजो कोही विशेष महाधिवेशनमा लाग्नुभयो, कोही लाग्नु भएन तर त्यही महाधिवेशनमा लागेको वा नलागेकै कारण कुनैपनि सदस्यलाई भेदभाव हुँदैन।’ पार्टीको योगदान र क्षमताका आधारमा मुल्याङ्कन गरिने उनले बताए।
संघीय सरकारमा प्रतिपक्षमा भएपनि प्रदेश र स्थानीय तहका सरकार सञ्चालनमा जनमूखी नतिजा ल्याउने गरी योजना र बजेट बनाउन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सभापति थापाले निर्देशन दिए।
‘कुनैपनि लोभ लालचमा नपरी पार्टी र जनताको हितलाई ध्यानमा राखि योजना बनाउनुस्,’ उनले भने, ‘कुनैपनि जनप्रतिनिधि आर्थिक अपचलनमा लागेको भेटिएमा अख्तियार भन्दा पहिला पार्टीले कारवाही गरी सहयोग गर्छ।’
वर्तमानको आवश्यकता अनुसार पार्टीलाई रुपान्तर गरी लैजानु आजको आवश्यकता भएको भन्दै उनले समयानुकुल सदस्यको गतिविधिलाई पनि रुपान्तरण गर्दै लैजानु पर्नेमा जोड दिए।
प्रदेश र स्थानीय तहका अधिकांश सरकार कांग्रेसको नेतृत्व रहेको भन्दै प्रभावकारी काम गरी देखाउन आग्रह गरे।
वर्तमान सरकार जनआकांक्षा अनुरुप चल्न नसकेको भन्दै कांग्रेसले खवरदारी गर्ने उनले बताए। ‘सरकार दुई तिहाइको दम्भमा चलिरहेको छ,’ उनले भने, ‘यस्तो बेला कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा खवरदारी गर्छ।’
प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसले पहिलो पटक प्रदेशस्तरको कार्यक्रम आयोजना गरेको हो। प्रतिनिधि सभा निर्वाचनमा देशका अन्य प्रदेशमा भन्दा कर्णालीमा राम्रो नतिजा ल्याएको कांग्रेसले एकताको सन्देश पनि कर्णालीबाटै दिनुपर्ने बताए।
निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा काँग्रेसको कार्यक्रमलाई चासोका साथ हेरिएको थियो।
खड्का पक्षीय मानिने अधिकांस नेताहरु कार्यक्रममा देखिएका थिए।
मंगलबारसम्म चल्ने भेलामा नेपाली काँग्रेसका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका पार्टी सभापतिहरु सहभागी भएका छन्।
सोमबार भेलामा पार्टीका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार र जिल्ला सभापतिहरुले जिल्लाको बस्तुगत रिपोर्टिङ र चुनावी समीक्षा गरेका छन्।
मंगलबार प्रशिक्षण र अभिमुखिकरण कार्यक्रम हुने आयोजकले जनाएका छन्। प्रशिक्षणमा संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित हुने बताए।
भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुनेछ।
बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा जनप्रतिनिधि र नेतृत्वबीच साझा धारणा निर्माणमा पनि विशेष जोड दिइनेछ।
त्यसैगरी सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तय गरिने बताइएको छ।







डिसी नेपाल







Facebook Comment