सिटिजन्स बैंकको अगुवाइमा दिव्यज्योती हाइड्रोपावरलाई ७ अर्ब ५० करोड कर्जा
काठमाडौं । दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन मस्र्याङ्दी बेसी जलविद्युत आयोजना (५० मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
आयोजनाको ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा कम्पनी तथा ऋण लगानी गर्ने वित्तीय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन्।
गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेसीशहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका हुँदै बग्ने मस्र्याङ्दी नदीमा उक्त आयोजना निर्माणाधीन रहेको कम्पनीले जनाएको छ।
कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा सह–वित्तीयकरणमार्फत कर्जा व्यवस्थापन गरिने भएको हो। बाँकी ३ अर्ब ८० करोड रुपैयाँ कम्पनीले स्वपूँजीमार्फत जुटाउने जनाएको छ।
कम्पनीका अनुसार आयोजनाको निर्माण अवधि चार वर्ष तोकिए पनि आगामी ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् विद्युतगृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी क्षमताको उदिपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच २०७५ भदौ १० गते सम्पन्न भएको थियो। साथै कम्पनीले २०७४ असोज १ गते ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment