निजी क्षेत्रको मनोबल बढाउनु सरकारको प्राथमिकता: अर्थसचिव उपाध्याय
काठमाडाैं। अर्थसचिव घनश्याम उपाध्यायले मुलुकको अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रको आत्मबल र विश्वास बढाउनु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।
हालको आर्थिक परिदृश्यमा निजी क्षेत्रको ठूलो सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनले सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक सुधार र पूर्वाधार विकासका काम अघि बढाइरहेको स्पष्ट पारेका छन्।
लगानीलाई नै आर्थिक सुधारको मूल आधार मान्दै सचिव उपाध्यायले विगतका सही नीतिहरूकै कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको र १८ घण्टाको लोडसेडिङबाट मुक्त भएर विद्युत् निर्यात गर्ने अवस्थासम्म आइपुगेको उदाहरण प्रस्तुत गरे।
सरकारले आगामी दिनमा आयात प्रतिस्थापन गर्ने र उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिलाई थप सहजीकरण गर्ने उनको भनाइ छ।
निजी क्षेत्रले अहिले मुख्य गरी आफ्नो सम्पत्ति र लगानीको सुरक्षा तथा नीतिगत स्थायित्व खोजिरहेको तर्फ संकेत गर्दै उपाध्यायले सरकारले ती पक्षहरूको ग्यारेन्टी गर्ने विश्वास दिलाए।
यसका साथै सार्वजनिक पूर्वाधार विकास र नाफामूलक ठूला आयोजनाहरूमा निजी क्षेत्रलाई सरकारसँगै सहकार्य गराएर अघि बढाउने रणनीति लिइने उनले बताए। आगामी आर्थिक वर्षको बजेटमा सरकारले नयाँ योजनाभन्दा पनि अधुरा रहेका आयोजनाहरूलाई सम्पन्न गर्ने विषयलाई विशेष प्राथमिकता दिने उनको भनाइ छ।







डिसी नेपाल







Facebook Comment