प्रश्नबाट भाग्ने प्रधानमन्त्रीको प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन: कांग्रेस

डिसी नेपाल
३१ वैशाख २०८३ ११:४५

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निस्कल राईले देशको कार्यकारी प्रमुखले संसदजस्तो गरिमामय संस्थालाई बेवास्ता गरेको भन्दै कडा आपत्ति जनाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय अभ्यासप्रतिको चरम उदासीनताको संज्ञा दिए।

सचेतक राईले सत्ता पक्षका सांसदहरूले प्रधानमन्त्रीको गैरजिम्मेवारीपनलाई सामान्यीकरण गर्न खोजेको आरोप लगाए। दुई तिहाइ बहुमतको दम्भमा सांसदहरूलाई कमजोर बनाउन खोजिएको उल्लेख गर्दै उनले भने, “प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत होइन।”

सदनलाई चिया चौतारीको रूपमा नभई ज्ञानको केन्द्र ‘गुरुकुल’ र ‘विश्वविद्यालय’ का रूपमा बुझ्नुपर्नेमा जोड दिँदै राईले प्रधानमन्त्री स्वयंले यो गरिमालाई लत्याएको टिप्पणी गरे।

“सदन मन लागे आउने र मन नलागे जाने ठाउँ होइन,” उनले व्यङ्ग्य गर्दै भने, “आज एउटा यस्तो परिस्थिति बनेको छ कि स्वयम् प्रधानमन्त्रीज्यूले नै यो गुरुकुल र विश्वविद्यालय ‘बंक’ गर्न थाल्नुभएको छ।”

सचेतक राईले प्रधानमन्त्री सदनमा उपस्थित नभएसम्म र संसदीय मर्यादाको पालना नगरेसम्म आफ्नो विरोध जारी रहने चेतावनीसमेत दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *