आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको प्राथमिकता बनाउन सांसद अर्जुन कार्कीको जोड
काठमाडौं। नेकपा एमालेका सांसद अर्जुन कुमार कार्कीले नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमानलाई केन्द्रमा राख्दै राष्ट्रिय विकासका एजेन्डाहरूमा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न राज्य गम्भीर बन्नुपर्ने बताए।
नेपाल हाल सामरिक महत्त्वका विषयभन्दा पनि आफ्नो राष्ट्रिय हित र विकासका लागि वैदेशिक सहायता जुटाउन विशेष सक्रिय हुनुपर्ने उनको तर्क थियो।
सांसद कार्कीले नेपाल अझै पनि अति कम विकसित राष्ट्रको सूचीमा रहेको स्मरण गराउँदै मुलुकलाई विकासशील राष्ट्रको स्तरमा पुर्याउन आर्थिक कूटनीतिले नै निर्णायक भूमिका खेल्ने उल्लेख गरे।
मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट वैदेशिक लगानी, सहायता र विकास साझेदारी आकर्षित गर्नका लागि परराष्ट्र सम्बन्धलाई आर्थिक लाभसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए।
राज्यले परराष्ट्र मन्त्रालयमार्फत आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अगाडि बढाउन सके मात्र मुलुकको आर्थिक-सामाजिक रूपान्तरण सम्भव हुने उनको भनाइ छ।
आर्थिक कूटनीतिको सफल कार्यान्वयनले गरिबी निवारण र भौतिक पूर्वाधारको विस्तारमा मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा एक सबल राष्ट्रका रूपमा उभ्याउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।
वैदेशिक सम्बन्धलाई केवल राजनीतिक भेटघाटमा मात्र सीमित नराखी मुलुकको स्तरउन्नतिका लागि अधिकतम परिचालन गर्नुपर्ने धारणा राख्दै सांसद कार्कीले यसका लागि सरकारको स्पष्ट कार्यदिशा आवश्यक रहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment