जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

गत २२ गते जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ ।

हाल नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालको २६, नेकपा माओवादी र नेकपा एसको ७-७ जना सांसद गरी कुल ६२ जना सांसद सरकारको पक्षमा रहेका छन् । सरकारलाई विश्वासको मतका लागि ५२ जना सांसदको समर्थन भए पुग्ने छ ।

प्रदेश सभामा एमालेका १ जना , माओवादीका २ जना, जनमत पार्टीका १ जना सांसद पदमुक्त भइसकेका छन् । दुई जना निलम्बनमा छन् । जनमत पार्टी विपक्षमा उभिए पनि सरकारले समर्थन पाउने निश्चित देखिएको छ ।