काठमाडौं मेरियट होटलको सामाजिक पहल: ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई नगद सहयोग

डिसी नेपाल
१ जेठ २०८३ १०:०१

काठमाडौं। एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालित काठमाडौं मेरियट होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत काठमाडौंको साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई विशेष सहयोग प्रदान गरेको छ।

मानवीय संवेदनालाई आत्मसात गर्दै होटलले उक्त संस्थालाई नगद सहयोगका साथै त्यहाँ आश्रित बालबालिकाहरूका लागि भोजनको व्यवस्था गरेको हो।

प्रिजनर्स असिस्टेन्स नेपालको परिसरमा आयोजित एक कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले संस्थालाई रु १ लाख नगद सहयोग हस्तान्तरण गरे।

सोही अवसरमा संस्थामा रहेका करिब २०० बालबालिकालाई भोजन समेत गराइएको थियो। कारागारमा रहेका अभिभावकका बालबालिकाको हेरचाह र शिक्षामा समर्पित यस संस्थालाई होटलले गरेको सहयोगले बालबालिकाको पालनपोषण र भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

सहयोग कार्यक्रममा बोल्दै काठमाडौं मेरियट होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले बालबालिकाहरूले आफ्नो नियन्त्रण बाहिरको परिस्थितिका कारण कष्ट भोग्न नपरोस् भन्नेमा आफूहरू सचेत रहेको बताए।

उनीहरूलाई सम्मानजनक जीवन र राम्रो भविष्यको सुनिश्चितता प्रदान गर्नु समाजका सबै पक्षको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले होटलको यो सानो प्रयासले उनीहरूमा आशा जगाउने विश्वास व्यक्त गरे।

होटलले साँचो हस्पिटालिटी होटलको चार पर्खालभित्र मात्र सीमित नभई समुदायप्रतिको जिम्मेवारी र संवेदनशीलतामा पनि झल्किनुपर्ने मान्यता राख्दै आएको छ।

सन् २०१९ देखि सञ्चालनमा आएको यस लक्जरी होटलले आगामी दिनमा पनि समाजका पिछडिएका र संवेदनशील वर्गको उत्थानका लागि यस्ता सकारात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *