एमालेलाई निर्णायक शक्ति बनाउन आत्मालोचना आवश्यक: विष्णु पौडेल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पङ्क्तिलाई विगतमा आफ्ना तर्फबाट भएका भूल-त्रुटि र गल्ती-कमजोरीहरू खुला हृदयले स्वीकार गर्दै जनतासामु आत्मालोचक भएर प्रस्तुत हुन विशेष आग्रह गरेका छन्।
तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
उपाध्यक्ष पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) को मर्मलाई पार्टीले ठीक ढङ्गले आत्मसात् गर्नुपर्नेमा जोड दिए। विगतका कमी-कमजोरीका कारण गुमेको जनताको भरोसा र विश्वासलाई पुनः प्राप्त गर्न एमालेका हरेक कार्यकर्ता र नेता जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
उनले नेकपा (एमाले)लाई देशको राष्ट्रिय राजनीतिको निर्णायक र नेतृत्वदायी शक्तिको भूमिकामा पुनःस्थापित गर्नका लागि दृढ संकल्पका साथ अघि बढ्न सबैलाई आह्वान समेत गरे।
नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उपाध्यक्ष पौडेलले यतिबेला आन्दोलन इतिहासकै सबैभन्दा बढी अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा आइपुगेको स्वीकार गरे।
“हामीले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवन सञ्चालन गर्दा जनताको बहुदलीय जनवादको सिद्धान्तबाट ठीक ढंगले निर्देशित हुन सक्यौं वा सकेनौं भनेर अब गम्भीरतापूर्वक वस्तुनिष्ठ समीक्षा गर्न विलम्ब भइसकेको छ,” उनले भने।
उनले पार्टीभित्रको आन्तरिक प्रणाली र राजनीतिक कार्यदिशाको समयमै गम्भीर समीक्षा नगरे भविष्यमा थप चुनौतीहरू सामना गर्नुपर्ने संकेत गरेका छन्।







डिसी नेपाल







Facebook Comment