भी-चित्रले जित्यो १५औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा “पीआर एजेन्सी अफ द इयर” अवार्ड
काठमाडौं। काठमाडौँस्थित अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सी भी-चित्र प्रा. लि. ले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि एक गौरवपूर्ण उपलब्धि हासिल गरेको छ ।
एसियाकै प्रमुख मार्केटिङ प्लेटफर्ममध्ये एक मानिने १५औँ ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा जनसम्पर्क (PR) विधा अन्तर्गत भी-चित्रले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित ‘पीआर एजेन्सी अफ द इयर’ को उपाधि चुमेको हो । ३० अप्रिल २०२६ मा भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा आयोजना गरिएको यस भव्य समारोहमा APAC (एसिया प्यासिफिक) क्षेत्रका उत्कृष्ट एजेन्सी र ब्रान्डहरूको सहभागिता रहेको थियो ।
भी-चित्रले विश्वकै प्रभावशाली डिजिटल प्लेटफर्ममध्ये एक टिकटकसँगको रणनीतिक सहकार्यमार्फत यो उल्लेखनीय सफलता प्राप्त गरेको हो । एजेन्सीले टिकटकको ‘फ्यामिली पेरिंग’ अभियानमार्फत ‘बेस्ट इन्टीग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको छ । .
सन् २०२५ मा नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटाइएकाले किशोर-किशोरीहरूको डिजिटल सुरक्षालाई लिएर अभिभावकमाझ बढ्दो चिन्तालाई सम्बोधन गर्न यो अभियान सञ्चालन गरिएको थियो । अभियानले टिकटकको अभिभावकीय नियन्त्रण सुविधा (Parental Control Feature) लाई सेलिब्रेटी, कन्टेन्ट क्रिएटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका मिडियामार्फत आम मानिसमाझ पुर्याएको थियो ।
यो सामाजिक अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रिएटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गर्दै टिकटकलाई जिम्मेवार प्लेटफर्मको रूपमा स्थापित गर्न सफल भयो ।
यसैगरी, नेपालमा टिकटक प्रयोगकर्ताहरूमाझ डिजिटल सुरक्षासम्बन्धी सचेतना फैलाउने उद्देश्यले सञ्चालित ‘टिकटक सेफ्टी एम्बेसडर’ कार्यक्रममार्फत भी-चित्रले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि अर्को स्वर्ण पुरस्कार हात पारेको छ । ग्राण्ड प्रिक्स अवार्ड अन्तर्गतका यी सबै महत्वपूर्ण विधाहरूमा स्वर्ण जित्दै भी-चित्रले जनसम्पर्क तर्फकै सबैभन्दा ठूलो सम्मान ‘पीआर एजेन्सी अफ द इयर’ को उपाधि पाएको हो, जसले कम्पनीलाई APAC क्षेत्रकै उत्कृष्ट पीआर एजेन्सीहरूको लहरमा उभ्याएको छ ।
नेपालका लागि यो अन्तर्राष्ट्रिय सफलता पुरस्कारमा मात्र सीमित नभएर नेपाली एजेन्सीहरू पनि क्षेत्रीय तथा वैश्विक स्तरमा प्रतिस्पर्धा र नेतृत्व गर्न पूर्ण रूपमा सक्षम छन् भन्ने एउटा बलियो प्रमाण हो । भी-चित्रको यस ऐतिहासिक सफलतामा उसको पीआर केन्द्रित सहायक कम्पनी ‘मिडियाम्यान’ को पनि महत्त्वपूर्ण भूमिका रहेको थियो ।
मिडियाम्यानको सञ्चार विशेषज्ञता र मिडिया रणनीतिले यी अभियानहरूलाई सफल बनाउन ठूलो मद्दत पुर्याएको थियो । काठमाडौँबाटै विश्वस्तरीय सिर्जनात्मक सोच र प्रभावकारी सञ्चार सम्भव छ भन्ने प्रमाणित गर्दै यी दुई संस्थाले नयाँ पुस्ताका नेपाली मार्केटिङ व्यवसायीहरूलाई विश्वस्तरमा प्रतिष्पर्धा गर्ने ठूलो सपना देख्न प्रेरित गरेका छन् ।







डिसी नेपाल







Facebook Comment