अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित

डिसी नेपाल
५ जेठ २०८३ १४:३२

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिको माग गर्दै सांसदहरूले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको महत्त्वपूर्ण छलफल चलिरहँदा अर्थमन्त्री सदनमा अनुपस्थित भएपछि सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा विशेष समय लिएर बोल्दै नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले बजेटको सिद्धान्त र प्राथमिकता जस्तो संवेदनशील विषयमा छलफल हुँदा अर्थमन्त्री आफैँ उपस्थित हुनु अनिवार्य रहेको जिकिर गरे।

उनले अर्थमन्त्री उपस्थित नभएसम्म छलफल अगाडि बढ्न नसक्ने अडान राखेपछि सभामुख डोलप्रसाद अर्यालले यसबारे अर्थमन्त्रीलाई खबर पठाइसकिएको जानकारी दिएका थिए।

सभामुख अर्यालले अर्थमन्त्री नआइपुगुञ्जेलसम्म आफ्नो धारणा राख्न आग्रह गरे पनि सांसद राईले अर्थमन्त्रीविना मन्तव्य राख्न अस्वीकार गरे। त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरे।

यसअघि छलफलमा भाग लिँदै सांसद अमरेशकुमार सिंहले पनि अर्थमन्त्रीको अनुपस्थितिमा विनियोजन विधेयकमाथि छलफल हुनु संसदीय गरिमा विपरीत भएको भन्दै गुनासो गरे। उनले चुरे क्षेत्रको संरक्षण हुन नसक्दा तराई मधेसमा पानीको संकट गहिरिँदै गएको प्रति सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै, सांसद रेखाकुमारी यादवले पनि अर्थमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराइन्।

उनले आगामी बजेटमा उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने, वैदेशिक सहयोग र ऋणका सम्बन्धमा नीति स्पष्ट हुनुपर्ने र कुन क्षेत्रमा वैदेशिक सहायता लिने भन्नेबारे सरकारले प्रष्ट खाका ल्याउनुपर्ने धारणा राखिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *