न्यायाधीश सपना प्रधान मल्ल २० दिनको विदामा बसिन्

डिसी नेपाल
६ जेठ २०८३ ११:०७

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन्। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्ति र पदबहालीसँगै उनी बिदामा बसेकी हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले न्यायाधीश मल्ल २० दिने बिदामा बसेको औपचारिक पुष्टि गरेका छन्। यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले गत २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

तर, संवैधानिक परिषद्ले रोलक्रममा आफूभन्दा कनिष्ठ (जुनियर) रहेका चौथो वरीयताका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनी असन्तुष्ट रहेको न्यायिक वृत्तमा चर्चा थियो।

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले मंगलबार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै सोही दिन पद तथा गोपनीयताको शपथ लिएर सर्वोच्च अदालत पुगी पदभार ग्रहण गरिसकेका छन्।

राष्ट्रपति कार्यालयमा मंगलबार आयोजना गरिएको प्रधानन्यायाधीश डा. शर्माको शपथ ग्रहण समारोहमा समेत न्यायाधीश मल्ल सहभागी भएकी थिइनन्।

नयाँ नेतृत्वको आगमन लगत्तै वरिष्ठतम न्यायाधीश मल्ल बिदामा बस्नुलाई न्यायालयभित्रको आन्तरिक ध्रुवीकरण र असन्तुष्टिको रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *