पार्टी मिलाउन र सबै विषयमा छलफल गर्न तयार छु : सभापति थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर लैजान आफू जुनसुकै विषयमा पनि छलफल गर्न तयार रहेको बताएका छन्।
महोत्तरीको बर्दिबासमा बुधबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’लाई सम्बोधन गर्दै थापाले आन्तरिक मतभेदहरूलाई संवादकै माध्यमबाट टुङ्ग्याउन सकिने स्पष्ट पारे। “म सबै कुरामा छलफल गर्न र मिलाउन तयार छु,” उनले भने, “साथीहरूको चित्त बुझाएर, पार्टीलाई मिलाएर अगाडि बढाउनेछु।”
सम्बोधनका क्रममा थापाले संस्थापन इतर समूहका नेताहरूलाई पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा अवरोध सिर्जना नगर्न आग्रह गरे। पार्टी बलियो बनाउने र सदस्यहरूलाई जिम्मेवार बनाउने अभियानमा कसैले पनि ‘खिचपिच’ गर्न नहुने उनको भनाइ थियो।
इतर समूहले सदस्यता अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाएको विषयमा आश्चर्य प्रकट गर्दै उनले भने, “क्रियाशील सदस्यता अद्यावधिक नगरौं, गर्न पाइँदैन भनिएको कुराले म अचम्ममा परेको छु। पार्टीको कुनै पनि क्रियाशील सदस्यले चाहेको खण्डमा सदस्यता अद्यावधिक गर्न पाउनु उसको अधिकार हो।”
सभापति थापाले पार्टी अनुशासनको विषयलाई पनि गम्भीरताका साथ उठाएका छन्। आम मतदाताले आफ्नो इच्छाअनुसार मतदान गर्न पाए पनि पार्टीको क्रियाशील सदस्य र नेता भइसकेपछि संगठनको निर्णय मान्नुपर्ने उनले प्रष्ट पारे।
“क्रियाशील सदस्य र पार्टीको नेता भएर मन परे पनि, मन नपरे पनि आफ्नो उम्मेदवारलाई रुख चिन्हभन्दा दायाँबायाँ गरेर मत हाल्न पाइँदैन,” उनले चेतावनी दिँदै भने।
गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेका वा मत नहाल्ने नेता-कार्यकर्ताहरूलाई संकेत गर्दै उनले त्यस्ता व्यक्तिहरूलाई केही समयका लागि पार्टीको जिम्मेवारी र सदस्यताबाट बाहिर राखिने स्पष्ट पारे। उनले भने, “अनुशासन उल्लंघन गर्ने व्यक्ति केही समय कांग्रेसको सदस्य हुनुबाट बाहिर रहनुपर्छ। हामीले उसको घरसम्पत्ति जफत गर्ने त होइन, तर सांगठनिक कारबाही र अनुशासनको दायरामा भने ल्याउनैपर्छ।”







डिसी नेपाल







Facebook Comment