केन्द्रको सहमति मधेसमा लागू: एमालेद्वारा मुख्यमन्त्री यादवलाई समर्थन गर्ने निर्णय

डिसी नेपाल
६ जेठ २०८३ १८:२९

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा (एमाले)ले पनि विश्वासको मत दिने भएको छ। राजनीतिक समीकरणमा आएको उतारचढावका बीच केन्द्रमा भएको शीर्ष सहमति अनुसार एमालेले मुख्यमन्त्री यादवलाई समर्थन गर्ने निर्णय गरेको हो।

यसअघि गत शुक्रबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने तय भए पनि जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरूले ‘फ्लोर क्रस’ गर्न सक्ने आशंकामा उक्त कार्यसूची स्थगित गरिएको थियो। अब मुख्यमन्त्री यादवले आगामी जेठ ८ गते प्रदेश सभाबाट विश्वासको मत लिने नयाँ मिति तय भएको छ।

मधेस सरकारमा नेपाली कांग्रेस, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) बीच मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो। तर, जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएपछि एकीकृत दलले विश्वासको मत दिन आनाकानी गरेसँगै मधेस सरकार संकटमा परेको थियो।

कांग्रेस नेतृत्वको सरकार सुरक्षित गर्ने प्रयास स्वरूप केन्द्रीय तहमा कांग्रेस र एमालेबीच सघन संवाद भएको थियो। कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फरक-फरक समयमा भेटवार्ता गरी सातै प्रदेशको सरकार सञ्चालन र शक्ति बाँडफाँटबारे छलफल गरेका थिए।

दुई ठूला दलबीच भएको सोही प्रारम्भिक सहमति अनुसार मधेसमा एमालेका सांसदहरूले मुख्यमन्त्री यादवको पक्षमा मतदान गर्ने भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *