न्यूनस्तरको पाइएपछि ‘डाबर हनी’ बजारबाट तत्काल फिर्ता गर्न आदेश
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि. द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ।
विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएपछि यो कदम चालिएको हो।
विभागका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२३ स्थित डाबर नेपाल प्रा. लि. बाट उत्पादन भएको ब्याच नम्बर ‘एबी ००४७७’ (उत्पादन मिति: २०२५/१२ र उपभोग्य अवधि १८ महिना) रहेको मह गुणस्तरहीन प्रमाणित भएको हो।
महको सो ब्याच मानव उपभोगका लागि न्यूनस्तरको देखिएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मिति २०८३ जेठ ५ गते बजारबाट फिर्ता सम्बन्धी औपचारिक आदेश जारी गरेको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सम्पूर्ण महहरू बजारबाट तत्काल फिर्ता गर्न र सोही दफाको उपदफा (४) बमोजिम उक्त उत्पादन बिक्री वितरण नगर्न वा नगराउन महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादक कम्पनीलाई कडा निर्देशन दिइएको छ।
विभागले उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुने यस्ता न्यूनस्तरका उत्पादनहरूको बिक्री वितरण रोकिएको र यसको उल्लंघन गरे कानुन बमोजिम थप कारबाही हुने स्पष्ट पारेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment