जब फेवातालमा डुङ्गा पल्टियो…

राम थापा/ऋषिराम बराल
७ जेठ २०८३ १६:३८

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए। यत्तिकैमा विपरीत दिशाबाट बत्तिदै आएको मोटरबोट डुङ्गालाई ठक्कर दिँदै अगाडि बढ्यो। डुङ्गामा सवार युवाहरू फेवातालमा डुबे। कोही पौडेर बच्ने प्रयास गर्दै थिए। कोही ‘बचाउ, बचाउ…’ भन्दै चिच्चाइरहेका देखिन्थे।

डुङ्गा पल्टेको खबर पाउँनासाथ सुरक्षाकर्मीको उद्धार टोली मोटरबोटबाट घटनास्थलमा आइपुग्यो। सुरक्षाकर्मील यात्रुको तत्काल उद्धार गरे। प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि ताल यात्रुलाई अस्पताल पुर्‍याइयो।

दुर्घटनामा परी तालमा हराइरहेका एक जनालाई गोताखोर टोलीले उद्धार गर्‍यो। ज्यानको पर्बाह नगरी तालमा हेलिएका उद्धार टोलीले यात्रुको जीवन बचाएका थिए। यो काल्पनिक घटना-दृश्य पोखराको फेवातालको हो। जिल्ला प्रशासन कार्यालय, कास्कीले आज बसुन्धरा उद्यान नजिक फेवाताल किनारमा जलउत्पन्न विपद् घटनाको उद्धारसम्बन्धी संयुक्त अभ्यास गरेको हो।

नेपाली सेनाको कृष्णदल गण, जिल्ला प्रहरी कार्यालय, कास्की र सशत्र प्रहरी बल नेपाल नं २४ गणसँगको सहकार्यमा नमुना उद्धार अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिए। विपद् प्रतिकार्य नमुना अभ्यासअन्तर्गत जलउत्पन्न विपद्सम्बन्धी उद्धार अभ्यास गरिएको उनको भनाइ छ। तीनवटै सुरक्षा निकायका विपद् व्यवस्थापन समूहअन्तर्गत रहेका गोताखोर, रोप उद्धारकर्तालगायत सुरक्षाकर्मीको उक्त अभ्यासमा सहभागिता थियो।

सुरक्षाकर्मीलाई विपद्जन्य उद्धार कार्यमा दक्ष र सीपयुक्त बनाउन नमुना अभ्यास आयोजना गरिएको हो। नमुना अभ्यासले विपद् न्यूनीकरण तथा व्यवस्थापनमा जनस्तरमा सचेतना अभिवृद्धि हुने विश्वास लिइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रागङ्त बरालले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिले समुदायस्तरमा विभिन्न तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणमा नमूना अभ्यासले मद्दत पुर्‍याउने जनाइएको छ। नमुना उद्धार अभ्यासले विपद्को समयमा हुने संवेदनशीलताको विश्लेषण गरी सुरक्षामा खटिने टोलीलाई विपद् उद्धारमा लाग्न सहजीकरण हुने गरेको छ।

उद्धार अभ्यासको अवलोकनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनसुनको पूर्वसन्ध्यामा विपद्सम्बन्धी सम्भावित घटनाको उद्धार तथा कृत्रिम अभ्यासमार्फत आमनागरिकमा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

“गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ त्यति संवेदनशील छ। विविध भूगोल, नदी, तालतलैया तथा कमजोर भौगर्भिक संरचनाका कारण मनसुन सुरु भएसँगै बाढीपहिरो, डुबान, हावाहुरीलगायत विपद्का जोखिम हरेक वर्ष बढ्दो छ”, उनले भने, “सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, पूर्वसूचना प्रणाली, उद्धार क्षमता अभिवृद्धि र समुदायस्तरको सचेतना आजको आवश्यकता हो।”

हावाहुरी, आकस्मिक वर्षा तथा मौसम प्रतिकूल हुँदा ताल क्षेत्रमा हुने दुर्घटनाले जनधनको क्षति हुने गरेको मुख्यमन्त्री पाण्डेले बताए। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्वतयारी सबैभन्दा महत्वपूर्ण र उत्कृष्ट विकल्पका रूपमा रहेको उनको भनाइ छ। “बाढीपहिरो, डुबान, आगलागी तथा ताल क्षेत्रमा हुने दुर्घटनाको जोखिम भएका स्थानमा समुदायस्तरमा नियमित सचेतना, तालिम र अभ्यास कार्यक्रम सञ्चालन गर्न आवश्यक छ”, मुख्यमन्त्री पाण्डेले भने।

प्रदेश सरकारको सहयोगमा फेवाताल र बेगनास तालमा (उद्धार)वाच टावर निर्माण गरिएको छ। सुरक्षा निकायमार्फत सञ्चालन हुने उद्धार डुङ्गा (बोट) हरू पनि हस्तान्तरण गरिएको छ। गण्डकी प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वय र सहकार्यमा प्रत्येक वर्ष विपद् पूर्वतयारी तथा कृत्रिम अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उद्धार सामग्री खरिद तथा व्यवस्थापन, राहत वितरण, गोताखोर तालिम, कम्युनिटी सर्च एण्ड रेस्क्यू तालिम, विपद् व्यवस्थापन सिमुलेशन अभ्यासलगायत कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका छन्। प्रदेशस्थित गोदाम घरमा विपद् उद्धारका सामग्री भण्डार र आवश्यकताअनुसार सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण गरिएको छ।

प्रदेश विपद् कार्यकारी समितिको निर्णयअनुसार प्रदेश विपद् व्यवस्थापन कोषमार्फत जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई रकम उपलब्ध गराउने कार्य भइरहेको छ। जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन ११ वटै जिल्लाको विपद् व्यवस्थापन कोषमा रु १०/१० लाख तथा प्रदेशस्तरमा रु १० करोड नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *