मीनबहादुरले दान दिएको जग्गा एमालेद्वारा फिर्ता, बल्खुमै बन्ने भयो केन्द्रीय कार्यालय

डिसी नेपाल
७ जेठ २०८३ १६:४७

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा र उनको सौजन्यमा बन्न लागेको पार्टी केन्द्रीय कार्यालय भवन नलिने निर्णय गरेको छ। गुरुङको उक्त प्रस्तावलाई एमालेले धन्यवादसहित फिर्ता गर्ने भएको हो।

एमाले सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार कीर्तिपुरमा भवन निर्माण गर्ने दाता गुरुङ दम्पतीको प्रस्ताव फिर्ता गरिएको छ। अब एमालेले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन पूरानै स्थान मदननगर बल्खुमा निर्माण गर्ने निर्णय गरेको छ।

मदन–आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी महासचिव शंकर पोखरेलले बल्खुमै केन्द्रीय कार्यालय बन्ने बारे जानकारी यसअघि नै गरिसकेका छन्।

व्यावसायी गुरुङबाट बहुमूल्य जग्गा दानमा लिएर उनकै खर्चमा भव्य भवन बनाउने पार्टीको अघिल्लो निर्णयले एमालेभित्र र बाहिरसमेत ठूलो विवाद निम्त्याएको थियो। उक्त जग्गा र भवन दान लिने निर्णयको विरोध गर्दै प्रश्न उठाउने एमाले नेत्रीहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि पार्टीले अनुशासनको कारबाहीसमेत गरेको थियो।

चौतर्फी आलोचना र पार्टीभित्रै तीव्र असन्तुष्टि बढेपछि अन्ततः एमाले आफ्नो निर्णयबाट पछि हट्दै गुरुङको प्रस्ताव फिर्ता गर्ने निष्कर्षमा पुगेको हो। विवादित सो भवनको शिलान्यास २०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्तरूपमा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *