संसद्‌मा विपक्षीको नाराबाजी: सभामुखले पेलेरै बढाए बैठक, प्रधानमन्त्रीको जवाफ माग्दै वेल घेराउ

डिसी नेपाल
७ जेठ २०८३ १७:४३

काठमाडौं। प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूको लगातारको अवरोध र चर्को नाराबाजीका बीच संसद्को गतिरोध झन् जटिल बन्दै गएको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अनुसार कारबाही अघि बढाउन खोजेलगत्तै असन्तुष्ट विपक्षी सांसदहरू रोष्टम र वेल घेराउ गर्न पुगेका थिए।

यसअघि पनि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले सदन अवरुद्ध पारेका थिए। त्यसपछि सभामुख अर्यालले सहमतिको प्रयासका लागि बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

तर, तोकिएको समयपछि फेरि सुरु भएको संसद् बैठकमा पनि स्थिति शान्त हुन सकेन। विपक्षी सांसदहरूको तीव्र नाराबाजी र विरोधका बीच सभामुखले पेलेरै संसद्को कार्यबाहीलाई अगाडि बढाएका छन्।

यो प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू भने आ-आफ्नो सिटबाट उभिएर शान्तिपूर्ण विरोध जनाइरहेका छन्। विपक्षी दलहरूले विशेष गरी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिनुपर्ने मागलाई मुख्य एजेन्डा बनाएका छन्।

संसद्को वेल घेरेर नाराबाजी गरिरहेका सांसदहरूले ‘निरंकुश प्रवृत्ति मुर्दावाद’ र ‘संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन’ जस्ता कडा राजनीतिक नाराहरू लगाउँदै सदनको ध्यानाकर्षण गराइरहेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर चर्किएको यो विवादले गर्दा संसद्को वातावरण निकै तनावपूर्ण बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *